काठमाण्डौं/१५ पुष– नेपालकाे विकट ठाउँ जुम्लामा पनि अब एमबिबिएस र एमडिजिपीको कक्षा सञ्चालन हुने भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौं सिनेट बैठकले यो प्रस्ताव पारित गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतीमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रि एवं प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाण्डौंमा बसेको बैठकले कर्णाली प्रतिष्ठानका एमबिबिएस र एमडिजिपी सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए ।
थापाका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव नं. ५ को निर्णयानुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रम एमबिबिएस, एमएस अर्थोपेडिक्स, एमडी इन एनेस्थियोलोजी, एमडिजिपी जनरल, एमडी एण्ड पेड्यिडिक्स, एमडी गाइनोलोजिष्ट, एमएसी इपिडिमियोलोजी, ब्याचलर न्यूटेशन र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानको संशोधित नियमावली र बजेटसहित १२ वटा उच्चस्तरका कार्यक्रमहरूको प्रस्ताव सहमतिमा पारीत गरीएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए । यससंगै प्रतिष्ठानका बहुवर्षीय योजना समेत पारित भएको उनले बताए छन् । “प्रतिष्ठानको यस शैक्षिक कार्यक्रमले अब कर्णालीको विकासमा अर्को थप सेवा पुगेको छ । यद्यपी शैक्षिक उच्च तहका कार्यक्रम चिकित्सा शिक्षा आयोगले स्वीकृती दिनुपर्छ ।” प्रतिष्ठान स्थापना पहल समितिका संयोजक एवं कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए । यसैगरी बैठकले छनौट समितिको अक्ष्यक्षमा प्रा. डा. गणेश गुरूङ र सदस्यमा डा. तरूण पौडेललाई नियुक्त गरेका छन् ।
यस अघि एचए, स्टाफनर्सिङ, बीपीएचलगायतका मात्रै कक्षा सञ्चालन भईरहेको अवस्थामा प्रतिष्ठानले एमबिबिएस र एमडिजिपीको अध्ययन सुरू गर्ने निर्णय गरेपछि कर्णालीबासी थप खुसी भएका छन् ।