काठमाडौं/१५ पुस–सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राले अब निःशुल्क रुपमा सेनिटरी प्याड पाउने भएका छन् ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महालक्ष्मी नगरपालिकाको संयुक्त आयोजनामा सिद्धिमंगल माध्यमिक विद्यालय ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गिरिराजमणि पोखरेलले उक्त कार्यक्रमको शुुभारम्भ गरेका छन् ।
कार्यक्रमको सुरुवता भएसँगै सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब १४ लाख ३७ हजार छात्रा लाभान्वित हुने भएका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार निःशुल्क सेनिटरी प्याड वितरणका लागि चालु आर्थिक वर्षमा १ अर्ब २७ करोड ७३ लाख ३७ हजार रकम विनियोजन गरिएको छ । उक्त रकम छात्रा संख्याका आधारमा देशभरका स्थानीय तहहरुमा वितरण गरिनेछ ।
सेनिटरी प्याडको प्रयोगले छात्राहरुको महिनावारी व्यवस्थापन सहज हुने बताउँदै शर्माले भने,“विद्यालय नियमित अध्ययन गर्न जाने वातावरण निर्माण भएको छ ।” शर्माले स्थानीय तहबाट विद्यालयले सेनिटरी प्याड प्राप्तगरी नियमित रुपमा छात्राहरुलाई उपलब्ध गराउने पर्ने बताए । स्थानीय तहले तोकिएको गुणस्तर भएका प्याड खरिद गरी वितरण गर्नुपर्ने उनको भनाई छ ।
सरकारले सेनिटरी प्याडको वितरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६’ समेत जारी गरेको छ । कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्रदेशस्तरमा व्यवस्थापन सहजिकरण समिति तथा स्थानीय तह र विद्यालयमा समेत सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा नै यो विषयलाई उल्लेख गरेको थियो । २० हजार सामुुदायिक विद्यालयलाई सहभागी गराउने लक्ष्यका साथ कार्यक्रमको घोषणा गरिएको थियो ।