काठमाडौं /२९ बैशाख- पाठ्यक्रम विकास केन्द्रले प्राविधिक धार तर्फको पाठ्यक्रम आगामि शैक्षिक सत्रबाट परीवर्तन गर्ने भएको छ । कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार तर्फको पाठ्यक्रम परीवर्तन गर्न लागिएको हो ।
अहिलेको पाठ्यक्रममा ९ र १० कक्षामा बढी भार रहेको र कक्षा ११ र १२ मा कम भार भएको र विद्यार्थीलाई अध्ययन गर्दा असहज भएको कारणले यसलाई मिलाउनको लागि पाठ्यक्रम परिवर्तन गरीएको प्रविधिक तथा व्यावसायिक शिक्षाका पाठ्यक्रम अधिकृत खिलानाथ धमलाले बताउनु भयो ।
पाठ्यक्रम विकास केन्दका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले अहिले बनिरहेको नयाँ पाठ्यक्रम बढी व्यावहारी तथा व्यावसायिक शिक्षामा आधारीत रहने गरी बनाइएको बताउनु भयो । भट्टराईका अनुसार ६० प्रतिशत प्रयोगात्मक शिक्षा रहने र विद्यार्थी कक्षा कोठामा भन्दा बढी फिल्डमा खटीने छन् । त्यसैगरी ४० प्रतिशत सैद्धान्तिक शिक्षा रहने बताउनु भयो ।
सबै कक्षामा ४ विषय प्राविधिक विषय रहने छन् भने बाँकी अनिवार्य विषय रहने छन् । त्यसै गरी प्लस टु मा उच्च शिक्षा पढ्न सहजहोस भनि प्राविधिक विषय बाहेक प्राज्ञिक र अनिवार्य विषयलाई मिलाएर बनाइएको छ । विद्यार्थीले अध्ययन गर्दा जुन विषय आफुलाई पढ्न इच्छा छ त्यो विषय छनौट गर्न पाउने छन ।
प्राविधिक विषयका पाठ्यक्रमको ड्राफ्ट बनिसकेका कारण आगामि शैक्षिक सत्रबाट लागु गर्ने तयारीमा रहेको पाठ्यक्रम विकास केन्दका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताउनु भयो ।



