सीप, संस्कार र प्रविधिसहितको शिक्षा, आजको आवश्यकता –अध्यक्ष पुरी

काठमाण्डौं/१४ पुष– प्याब्सन विराटनगरको आज भएको प्रथम साधारण सभाको उद्घाटन गर्दै प्याब्सन अध्यक्ष पुरीले सीप र प्रविधि सहितको शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर अगाडी बढ्नुपर्ने र पूँजीको विकास गरि निजी विद्यालयहरू परिमार्जित गर्दै संस्थागत तरिकाले चलाउनुपर्ने बताए । उनले विद्यालयलाई व्यवस्थित गरि भाँडाको रुपमा सञ्चालन भएका भए पनि त्यसलाई सफा र आकर्षक तरिकाले सञ्चालन गर्न जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय शैक्षिक विद्हरूलाई ल्याएर शिक्षालाई सीपसँग जोडेर अगाडी बढ्ने विषयमा राष्ट्रिय स्तरको सेमिनारको तयारी भईरहेको पनि उनले जानकारी दिए । उनले प्याब्सनको निर्देशन नमान्ने प्याब्सन आवद्ध विद्यालयलाई दायरामा ल्याउन र निजी विद्यालय मैत्री ऐन, नियम बनाउन प्याब्सन सधैभरी लागि पर्ने प्रतिबद्धता पनि जाहेर गरे । उनले प्याब्सनलाई बैद्धिक, स्मार्ट र नमुना प्याब्सन बनाएर अगाडी बढ्ने बताए ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्याब्सनलाई राजनैतिक तरिकाले नभएर व्यवसायिक रुपमा संचालन गर्नुपर्ने बताएका छन् । यसैगरी विराटनगर महानगरपालिका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले महानगरपालिका शिक्षा ऐन बनाउने क्रममा रहेको जानकारी दिएका छन् ।
प्याब्सन विराटनगरमा महानगर क्षेत्रका ७० विद्यालय आवद्ध रहेको प्याब्सन विराटनगर सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव राजेशकुमार दास, केन्द्रीय सचिवालय सदस्य वासुदेव न्यौपाने, केन्द्रीय सल्लाकार डा. उद्धब पोखरेल, प्याब्सन जिल्ला अध्यक्ष अर्जुन बस्नेत र इमानका केन्द्रीय अध्यक्ष नरेन्द्र केसीलगायतले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयले ठूलो योगदान पु¥याएको अभिव्यक्ति दिएका छन् ।