पुस १० गते सूर्यग्रहण, झण्डै ३ घण्टा लाग्ने


काठमाण्डौं/८ पुस–यो साताको पुस १० गते विहीबारका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।नेपाली समयअनुसार बिहानको करिब ८ बजेर ४२ मिनेट बाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ भने बिहान ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ । उक्त ग्रहणको अवधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । यो पाली करिब ६ वटा ग्रहहरू एकैस्थानमा रहेर ग्रहण लाग्ने छ, जुननिकै दुर्लभ खगोलिय घटना हो । यसर्थ पनि यसलाई विशेष रूपमा हेरिएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईकाअनुसार खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिनेछ। यदि मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने उनको भनाई छ। यो ग्रहण नेपाल, भारत, चीन, पाकिस्तान, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी एसिया र अफ्रीकालगायतका स्थानबाट देखिने बताईएको छ। भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ।
रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरीबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ। ग्रहण लाग्दा रिङ अफ फायर भने प्रायजसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ।
चिकित्सक तथा खगोलशास्त्रीले नांगो आँखाले ग्रहण हेर्न उपयुक्त नहुने सुझाब दिएका छन्। खुला आँखाले हेरेको खण्डमा आँखाको ज्योति गुम्न सक्ने वा दीर्घकालमा दृष्टि कमजोर हुन सक्ने उनीहरूको ठहर छ।तर विशेष प्रकारको चस्मा प्रयोग गरी ग्रहण अवलोकन गर्दा फरक नपर्ने विज्ञहरुको तर्क रहेको छ।

मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, कन्या,, सिंह, मिथुन, वृष, मेष, मकर , राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । तुला, कर्कट, कुम्भ तथा मीन राशि हुनेहरुका लागि भने विषेश फाइदा रहने छ ।