काठमाण्डौं/८ पुस– अष्ट्रेलियाका उच्च शिक्षा विशेषज्ञहरूद्वाराअष्ट्रेलियाको संघीय सरकारलाई त्यहाँ बढिरहेको नेपाली विद्यार्थीको संख्यालाई तत्काल रोक्न माग गरेका छन् ।
नेपाली विद्यार्थीको वृद्धिसंगै अष्ट्रेलियामा रोजगार दाता र त्यहाँको गरिब परिवारको शोषण भईरहेको भन्दै तत्काल नेपाली विद्यार्थीहरूको वृद्धि रोक्न अष्ट्रेलियाका शैक्षिकविद्हरूले चेतावनी दिएका हुन् ।केही वर्षयता उच्च शिक्षाका लागि विदेशीने नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया पहिलो रोजाइको गन्तव्य बनेको छ । नेपालबाट मात्रै होइन अष्ट्रेलियामा प्राप्त हुने गुणस्तरीय शिक्षा र सुरक्षित करिअरका कारण विश्वका अन्य मुलुकहरुका विद्यार्थीको रोजाइ पनि बढी अष्ट्रेलिया हुने गरेको छ । अष्ट्रेलियाको चर्चित अखबार ‘द सिड्नी मर्निङ हेराल्ड’ अनुसार २०१७ पछि नेपाल अष्ट्रेलियामा विद्यार्थी पठाउने देशहरुको सूचीमा तेस्रो स्थानमा छ ।सबैभन्दा पहिलो स्थानमा धेरै विद्यार्थी चीनले पठाउँछ भने देस्रोमा भारत अनि तेस्रोमा नेपाल पर्छन् ।
गत अक्टोबरसम्मको १२ महिनाको अवधिमा वर्षको एक तृतीयांश कोर्षका लागि नेपालबाट ६५ हजार ७४६ विद्यार्थी नामांकित (इनरोल) भएका छन् । यो संख्या सन् २०१६ मा इनरोल भएका २१ हजार विद्यार्थीको तुलनामा ३ गुणाभन्दा बढी हो । यस वर्ष अस्ट्रेलियाका शिक्षा प्रदायक संस्थामा इनरोल भएका विद्यार्थीहरुमध्ये ४२ हजार पाँच सय विद्यार्थी न्यू साउथ वेल्सका शैक्षिक संस्थामा इनरोल भएका छन् भने ११ हजार ३ सय विद्यार्थी भिक्टोरियामा इनरोल भएका छन् ।यसर्थ अधिकांश नेपाली विद्यार्थीहरु आफ्ना पढाईका लागि भिक्टोरियाभन्दा न्यू साउथ वेल्समा बढी छन् ।
चिनियाँ र भारतीय विद्यार्थीहरुको तुलनामा नेपाली विद्यार्थीको पाठ्यक्रम रोजाई पनि फरक छ । चिनियाँ र भारतीयहरू अधिकांश विश्वविद्यालयको डिग्रीका लागि इनरोल छन् भने नेपाली विद्यार्थीहरुको आधा संख्या व्यवसायिक शिक्षा तथा तालिम वा अंग्रेजी भाषा अध्ययनका लागि इनरोल छन् ।यो प्रवृत्तिले उच्च शिक्षा विशेषज्ञलाई झस्काएको छ । विशेषज्ञहरुले यी विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययन गर्ने खर्च उठाउन नसक्ने र सम्भवतः आफ्नो ट्युशन शुल्क तिर्नका लागि शोषणयुक्त काम गर्न बाध्य भईरहेको बताएका छन् । अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा उच्च शिक्षा नीतिका प्राध्यापक एन्ड्रयु नर्टन भन्छन् ‘नेपालीको यो वृद्धिदरलाई गृह मामिला विभागले अब तत्काल रोक्नुपर्छ । नेपाल धेरै जनसंख्या भएको देश होइन र यो धेरै गरिब छ,यसर्थतपाइँसँग आधारभूत प्रश्न छ, यति धेरै मानिसहरु कसरी अष्ट्रेलियामा आउन र यहाँ अध्ययन गर्ने खर्च उठाउन सक्छन् भन्ने?’ प्राध्यापक नर्टनले अगाडि भने ‘ठूलो संख्यामा नेपाली विद्यार्थीहरुको भिसा आवेदनमा दोस्रो व्यक्ति पनि हुन्छ । यसबाट यो भन्न सकिन्छ कि उनीहरु आफ्नो पार्टनरलाई यहाँ काम समेत गर्न ल्याइरहेका छन् ।
युनिभर्सिटी अफ सिड्नीका एसोसिएट प्राध्यापक स्लाभाटोर बेबोन्स यो कुराको अझै कडा आलोचना गर्दै विश्वविद्यालय र सरकारले नै गरिब परिवारको शोषणको नेतृत्व गरेको आरोप लगाए । ‘विश्व बैंकको तथ्यांकअनुसार नेपालको प्रतिव्यक्ति वार्षिक आय १ हजार डलर छ । यो भनेको अष्ट्रेलियाको तुलनामा ५० गुणा कम र भारतको तुलनामा आधा हो । तरपनि यो देशका विद्यार्थीको अष्ट्रेलियामा ठूलो भिड छ यो सबैको लागि चिन्ताको विषय हो । उनीहरु ठूलो ब्याज तिर्न तयार भएर गैरकानुनी तरिकाले लिईएको पैसामा अष्ट्रेलिया आउँछन् । यहाँ हुँदासम्म कानुनी वा गैरकानुनी दुवै तरिकाले उनीहरुको क्षमताले सक्ने भन्दा धेरै काम गर्छन् ताकि उनीहरु नेपालमा आफ्ना परिवारलाई पैसा पठाउन सकुन््’ एसोसिएट प्राध्यापक बेबोन्सले भने । नेपालको लागि यो केवल अपमानजनक र हाम्रा लागि यो समस्याको विषय होबेबोन्सले थपे ।
अष्ट्रेलिया बस्नकालागि मात्र नभई शिक्षामा समेत राम्रो भएको देशमा गनिन्छ । यस्ता धेरै कारणले नेपाल लगायतका देशबाट अष्ट्रेलिया अध्ययनकालागि आउन चाहने विद्यार्थीको संख्या धेरै छ ।पछिल्लो समय अष्ट्रेलियाको सरकारले ल्याएको नयाँ शिक्षा नीति र अब अष्ट्रेलियाका उच्च शिक्षाविद्हरूले उठाएको आवाजसंगैविदेशी विद्यार्थीको हकमा कस्तो असर वा प्रभाव पर्ला भन्ने अहिले सबैको मनमा प्रश्न उठेको छ ।