काठमाडौं/३ पुस– शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको छ ।
आयोगका प्रशासकिय प्रमुख वैकुण्ठ अर्यालका अनुसार मंगलबारदेखि उत्तरपुस्तिका परीक्षणको काम सुरु गरिएको हो । पहिलो चरणमा माध्यमिक तहको उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको र निमावि र प्रावि तहको कापी कोडिङ्को चरणमा रहेकाले परीक्षणका लागि केही दिन लाग्ने उनले खबर एजुकेशनलाई जानकारी दिए ।
अहिले दुई वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षणको काम भईरहेको उनले बताए । काठमाडौंको कालिमाटीमा रहेको जनप्रभात मावि र ललितपुरको बालकुमारीमा रहेको गम्भिर समुन्द्र सेतु माविमा उत्तरपुस्तिका परीक्षणको काम भईरहेको छ । मंगलबार उत्तरपुस्तिका परीक्षकहरुलाई आयोगले ओरेण्टेशन समेत दिएको थियो ।
धेरै समयपछि आयोगले लाईसेन्स परीक्षा खुलाएको हो । आयोगले यस अघि मावि र निमावि तहको लाईसेन्स २०७२ र प्रावि तहको लाईसेन्स २०६८ सालमा खुलाएको थियो । आयोगले मावि तहको विभिन्न तीन, निमावि तहको एक र प्रावि तहको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । लाईसेन्स परीक्षामा प्रावि तहमा ६६ हजार ५ सय ९५, निमावि तहमा ५६ हजार १ सय ४० र मावि तहमा १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।
शिक्षक लाईसेन्सको उत्तरपुस्तिका परीक्षण सुरु, माविको उत्तरपुस्तिका परीक्षण हुँदै
