बैतडीमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालन

बैतडी/४ माघ– बैतडीमा ३ वटा स्थानीय तहका ३ वटा विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालन हुने भएको छ ।
स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा चालू आर्थिक वर्षमा मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकाका १–१ वटा विद्यालयमा नर्स सेवा सुरु गर्न लागिएको हो ।

कार्यक्रमका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले कार्यक्रम सञ्चालन हुने सम्बन्धित पालिकाले विद्यालय छनौट गरी जनशक्ति स्वास्थ्य कार्यालयले खटाउनेछ र एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत विद्यालयमा विद्यार्थीलाई स्वस्थ जीवनशैलीका विभिन्न विषयमा जानकारी दिइने बताए ।

छनौट भएका विद्यालयमा १–१ जना स्टाफ नर्स खटाइनेछ । यो सेवा लागू भएपछि स्कूले बालबालिका लाभान्वित हुनेछन् । साथै विद्यालयबाटै विद्यार्थीले आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने बानीको विकास गर्नसक्यो भने स्वस्थ नागरिक उत्पादन हुने भट्टले बताए ।

विद्यालयमा नर्सले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन् । नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिन्छन्, उनीहरुलाई आफूसँगै घर परिवारलाई स्वस्थ रहने तरिकाबारे सिकाउँछन् ।

चालू आर्थिक वर्षबाट सुरु हुन लागेको यो कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने स्वास्थ्य प्रमुख भट्टले बताए ।