काठमाण्डौं /२ माघ– नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले आयोजना गर्दै आईरहेको बृहत शैक्षिक मेला आज देखि अनलाइन माध्यममार्फत् शुरु भएको छ ।
नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई एकै थलोमा विभिन्न देशको शिक्षा प्रणालीको जानकारी गराउने उद्देश्यसहित अनलाईन माध्यमबाट बृहत शैक्षिक मेला सञ्चालन भएको हो ।
कोभिड–१९ का कारण भौतिक रुपमा मेला सम्पन्न गर्न कठिनाई भएकाले परिस्थितिको माग बमोजिम मेलालाई अनलाइन माध्यमबाट सञ्चालन गरीएको अका महासचिव दीपकराज भुसालले बताए । भर्चुअल मेलामा विद्यार्थीहरुले कोरोना महामारीका कारण सिर्जित समस्या, सम्बन्धित देशले कोरोना महामारीपछि लिएका नीति र त्यसले पार्ने प्रभावका बारेमा सम्पूर्ण जानकारी लिन सकिने भुसालले जानकारी दिए ।
यसका साथै, उच्च शिक्षाका लागि जान चाहेको सम्बन्धित देश, विश्वविद्यालय तथा कलेज, कोर्षका साथै भिजा प्रोसेसिङ, लाग्ने खर्च लगायतका विभिन्न जानकारी तथा परामर्श समेत लिन सकिने छ । मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले आफू बसेकै ठाउँमा भर्चुअल मेलामा सहभागी हुन पाउने उनले बताए ।
त्यस्तै, विद्यार्थी तथा अभिभावकहरुले विगतमा जस्तै विभिन्न देशमा रहेका विश्वविद्यालय, कलेज, अध्ययनका लागि लाग्ने शुल्क, भिसा प्रक्रिया, छात्रवृत्तिका बारेमा जानकारी लिन सक्नेछन् ।
मेलामा सहभागी हुन विद्यार्थी तथा अभिभावकले www.ecanfair.com मार्फत् वेवसाइटमा गएर नाम दर्ता गरी आवश्यक सम्पूर्ण जानकारी लिन सकिने छ । मेला आजदेखी माघ ५ गतेसम्म अनलाइन मार्फत् सञ्चालन हुनेछ ।



