शैक्षिक सत्र जेठसम्म हुने, एसईई परीक्षा असारमा

काठमाण्डौं /२ माघ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी थालिएको छ ।
कोभिड–१९ का कारण आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा हुन नसकिने भन्दै बोर्डले शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।
महामारीका कारण चैतसम्म कोर्ष सकिने अवस्था छैन । तसर्थ, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाई जेठको अन्तिमसम्ममा शैक्षिक सत्र लम्ब्याउनुपर्ने प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले बताएका छन् ।
उनले चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि बिदा कटौती र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्ष सक्ने योजनामा शिक्षा मन्त्रालय रहेको बताए ।
यस्तै, यसपटकको एसईई परीक्षा आगामी असारभित्र गर्ने परीक्षा बोर्डको तयारी रहेको छ । कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कनमार्फत् नतिजा प्रकाशन भएको थियो । यस वर्ष पनि त्यस्तै हुने सम्भावना नरहेकाले भौतिक उपस्थितिमा नै विद्यार्थीले परीक्षा दिनुपर्ने परीक्षा बोर्डले जनाएको छ ।