शिक्षा मन्त्रालयद्वारा प्रकाशित पाठ्यपुस्तक वितरण गर्न अनेरास्ववियूको माग

काठमाडौ /२१ पुस– शिक्षा मन्त्रालयले प्रकाशित गरेको संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमिसहितको पाठ्यसामग्री तत्काल वितरण गर्न अनेरास्ववियूले माग गरेको छ ।
बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले आजदेखि पुष २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने क्रममा सो विषयलाई अघि सारेको हो ।


संसद विघटनको विरोधसँगै अनेरास्ववियूले आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।


नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमलाई अघि सार्दै कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलतालाई ढिलासुस्ति नगरी तत्काल अन्त्य गर्न दवावमुलक कार्यक्रम गर्नुका साथै कोभिड–१९ का कारण सञ्चालन नभएका परीक्षा तत्काल शुरु गर्न भनि आवाज उठाएका छन् । साथै अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न पनि आन्दोलन गर्ने बैठकले निर्णय गरेको छ ।