काठमाडौं /२६ असोज -लामो समय देखि कोभिड–१९ का कारण पठनपाठन बन्द छ । विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर पढाउने अबस्था छैन । विद्यालय तहका विद्यार्थीले घरमै रहेर वैकल्पिक माध्यमबाट सिकिरहेका छन् ।
विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर पढाउने अबस्था नभए पछि सरकारले विद्यालय तहका विद्यार्थीलाई शैक्षिक शत्रमा परीक्षाभन्दा मूल्याङ्कन गरेर कक्षोन्नति गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको स्पष्ट पारेका हुन ।
शिक्षा पत्रकार समूहको नियमित छलफल कार्यक्रम शिक्षाबारका लागि सोमबार आयोजित ‘वैकल्पिक सिकाइ मूल्याङ्कनका आधार र तयारी’ विषयक भर्चुअल अन्तक्र्रियामा भट्टराईले भने, ‘यो वर्ष पढाएर परीक्षा लिने होइन, सिकाएर विद्यार्थीको मूल्याङ्कन गर्ने हो । त्यसैका आधारमा विद्यार्थीलाई कक्षान्नोति गर्ने हो ।’
साथै उनले शिक्षकहरुलाई तीनघण्टे परीक्षामा नअल्मलिन आग्रह गर्दै वैकल्पिक माध्यमबाट सिकेका विद्यार्थीलाई ५० भन्दा बढी तरिका अपनाएर मूल्याङ्कन गर्ने विधि पाठ्यवस्तु समायोजन ढाँचामा दिइएको बताए ।
पाठ्यवस्तु समायोजन ढाँचाअनुसार खासगरी तीन प्रकारको मूल्याङ्कन हुनेछन । एउटा निरन्तर, दोस्रो प्राक्टिकल र तेस्रो प्रमाणीकरण मूल्याङ्कन । यसमा ‘टेक्स्ट’ ९पाठ्यवस्तु० र ‘कन्टेक्स्ट’ ९परिवेश०मा आधारित प्रश्न सोध्न सकिनेछ । गृहकार्य, परियाजना कार्य, साना समूहमा विभाजन गरी प्रश्न राख्ने, टेलिफोनमार्फत सोध्ने, अनलाइन प्रविधि आदि विधिबाट विद्यार्थीको मूल्याङ्कन गरिने बताइएको छ ।
पाठ्यक्रमका निर्देशक भट्टराईका अनुसार सामान्य अवस्था जस्तो तेस्रो त्रैमासिकसम्मको परीक्षा लिने नभई जम्मा दुईपटक विद्यार्थीको मूल्याङ्कन गरिनेछ । पहिलो मंसिरको अन्तिम साता र अर्को चैतको पछिल्लो हप्ता मूल्याङ्कन गरिनेछ । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले पनि मूल्याङ्कन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी उल्लेख गरेको छ । यसका लागि विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र एकजना स्थानीय विज्ञ सम्मिलित समितिले काम गर्ने उल्लेख छ ।



