आउनुहोस शिक्षकहरूलाई जेल हालौँ

नेपाली बृहत शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छ शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर । शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ । यहाँ गुरु को ‘गु’ ले अंधकार र ‘रु’ ले तेज लाई जनाउँछ । जसले ज्ञानरुपि प्रकाश दिएर अंधकारलाई हटाउने ब्यक्ती नै गुरु मानिन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले शिक्षक सूचना प्रवाहकर्ता, प्रवर्धनकर्ता, विद्यार्थीसँग सहकार्य गरि सिक्ने र सिकाइ संस्कृतिको खुल्ला बाताबरण सिर्जना गर्ने ब्यक्ति हो शिक्षा ऐन,२०२८ अनुसार शिक्षक भन्नाले बिद्यालयको अध्यापक सम्झनु पर्दछ सो शब्दले प्रधानध्यापक समेतलाइ जनाउछ । आर्थिक सर्वेक्षण २०७६÷७७ अनुसार शैक्षिक शत्र २०७६मा सामुदायिक र संस्थागत विद्यालयमा गरी कुल ३ लाख १६ हजार ८ सय ३५ शिक्षक मध्ये महिला १ लाख २३ हजार ७ सय ३ र पुरूष १ लाख ९३ हजार १ सय रहेका छन । हाल नेपालमा सार्वजनिक र निजी लगानीका गरी ३५ हजार ५५ वटा विद्यालयहरू स्थापना भई संचालनमा रहेका छन । सरकारले सामुदायिक विद्यालयमा तहगत तथा विषयगत प्रयाप्त दरबन्दी उपलब्ध गराउन सकेको छैन भने शिक्षामा बजेटको आकार बर्षेनी घट्दो क्रममा छ ।

प्रायःअभिभावको आरोप रहन्छ बिद्यार्थी कमजोर वा बिग्रीयो,अभिभावकले चाहे अनुरूप अंक ल्याएन,भनेको मानेन यस्ता थुप्रै कुरामा भने सबै दोष जती शिक्षक माथी लगाईन्छ र अनेक थरी कुरा गरिन्छ । विद्यालयमा राम्रो पढाई भएन,शिक्षकको कमजोरीले गर्दा हो,सजिलो जागिर भनेकै शिक्षककै हो,पढाउन नजान्ने,कामचोर आदी । बिद्यालयमा एक जना विद्यार्थी बिहान दश बजे देखि बेलुका चार बजे सम्म रहन्छ भने बाँकी समयमा घरमा बिताउने गर्छ । तर निज वालक १८ घण्टा सम्म निजको घरमा बस्ने,अभिभावकै रेखदेखमा हुने,घरका अन्य सदस्य सँग र साथीभाई सगँ बिताउने गर्छ उसका आमा बाबुलाई आफ्ना सन्तान बिगारेको दोष किन जादैन ? के अभिभावकले पनि केही सिकाउनै हुदैन ? वालकको सर्वाङीण विकासको पहिलो पाईला वा पहिलो गुरू आमा,घरपरिवार र साथी समुह हुदै अनि विद्यालय हुन्छ । यसरी अभिभावकले सबै दोष शिक्षकहरूलाई जिम्मा लगाउनु कदापी राम्रो होइन । यसरी भनी रहँदा शिक्षक पनी आफ्नो कर्तव्यबाट पन्छिन हुदैन । एकाध शिक्षकहरूले पनि वालवालिकाको सुनौलो भविष्यमा तलमाथी गरेका रहेछन भने पनि छानबिन गरी कारर्वाही र सजायको भागी बनाउनु पर्छ । वालकको शैक्षिक विकासको लागी अभिभावक,साथी समुह,समाज,शिक्षक तथा विद्यालयसबैको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

कोरनाको असहज कारणले गर्दा शिक्षकहरु पनि आ–आफ्नो घरमा गए र हाल कर्म क्षेत्रमा फर्केर नियमित कामहरू सुरू गरेका छन । शिक्षकहरू घर जाने र आउने क्रम रहरले नभई विषम परिस्थितीले निम्त्याएको हो । यसरी महामारिका रुपमा कोरोना फैलिएतापनि उचित स्वास्थ्य मापदण्डका सामाग्रीको पालना गरी सम्पुर्ण सामुदायिक बिद्यालयहरू बाट वैकल्पिक विधि अवलम्वन गरी पठनपाठन भईरहेका छ्न । शिक्षकहरूले सुचना तथा संचार प्रविधिका साधनहरू सिकेरै भएपनी अनलाइन तथा अन्य विधिबाट पढाइ सुरू गरी रहेका छन । सामाजिक संजालमा र सार्वजनिक बहसमा सामुदायिक बिद्यालयमा पढाउने शिक्षक शिक्षिकहरुको तलब रोक्नु पर्छ,उनिहरुको तलब नदिदा राज्य कोषमा त्यो रकम संचित हुन्छ,सो रकमले कोरोनामा खर्च गर्नुपर्छ जस्ता अबिब्यक्ती आउनु र दिनु कतिको सान्र्दभिक होला? शिक्षकहरुले घरमा बसि बसि तलब खाएका छन,काम गरेनन,तर बन्दाबन्दिको समयमा अन्य निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारिहरूले पनि शिक्षक जस्तै घरमा बसि तलब भत्ता पाए होलान ? खै त त्यो आवाज सुनिएको ? शिक्षक माथी मात्र किन खनिनु पर्ने ? किन एकहोरो शिक्षक माथी प्रश्नका खात ? विषम परिस्थितिले गर्दा राज्यले कर्मचारीको सेवा सुविधा उपलब्ध गराउन नसक्ने अस्था सृजना भएमा सबै राष्ट्र सेवक तथा सरकारी सेवा लिने र पाउनेहरूको तलव वा अन्य सेवा र सुविधा निश्चित रकम कटैती गरी राज्यको कोषमा जम्मा गरी सबैको हित र कल्याणमा लगाउदा फरक नपर्ला? तर शिक्षा सेवाको सकरात्मक र नकरात्मक पक्षमा बहस गरी कार्यान्वनमा लैजानु श्रेयकर होला।

शिक्षण पेसा अरू पेसा भन्दा फरक र बिशिष्ट छ । अन्य देशको सेवा,सुविधा र अन्य तुलनामा नेपालमा शिक्षण पेसालाई गर्विलो र ओझिलो बनाउन नसकेको तितो यथार्थता हो । कारण के हो? पहिचान गरी कार्यान्वयन गर्न आवश्यक छ । असल शिक्षाले नै असल राष्ट्रको निर्माण गर्न सहयोग पुर्याउछ । त्यसैले शिक्षा र यस क्षेत्रमा काम गर्न दक्ष जनशक्ती,बजेट,पाठ्यक्रम र व्यावहारीक शिक्षा प्रणाली हुन आवश्यक छ । यसले सिङ्गो राज्यको मुहार उजेलो बनाउने छ । शिक्षा सेवामा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई अरू सेवा भन्दा फरक किसिमको सेवा प्रवेश गर्ने तौर तरीका,योग्यता,सेवा सुविधा र बढुवा हुनु पर्दछ । तर सबै कर्मचारीलाई एकै डालोमा राखी समान सेवा सुविधा उपलब्ध गराउनु राज्य चुकेको देखिन्छ । निजामती सेवा,शिक्षा सेवा र अन्य सेवाका कर्मचारी र शिक्षकले पाउने सेवा सुविधा केही हदसम्म समान छन । तर कुनै एउटा बिद्यालयको कुनै पनि शिक्षक वा कर्मचारी बिद्यालयको काममा जाँदा होस,सरूवा भई अन्यत्र जाँदा होला,तालिममा सहभागी हुदाँ निजले आफ्नो तलव,भत्ताबाटखर्च गर्नु पर्छ । सोही काम अन्य सेवाका कर्मचारिको हकमा त्यो लागू हुदैन किन ? बाटो खर्च,परिवारीक खर्च, आते जाते खर्च जस्ता अनेक शिर्षकमा रकम लिएको पाईन्छ । यो गलत छ । यस्ता फजुल खर्चले राज्यको व्यायभार बढ्न जान्छ । यी शिर्षकका खर्चहरू कटैती हुनु पर्छ ।

एउटा कुनै श्रेणीमा सेवा प्रवेश गरेको निजामती वा अन्यकर्मचारी सेवा बाट अवकास हुदा माथिल्लो श्रेणी,पद र काम गरेर निस्कन्छ तर शिक्षक भने सोही तहमा बस्नु पर्ने बाध्यता छ । यस्तो असमनता कहिले सम्म ? एउटा माध्यामिक तहको स्थायी शिक्षकको पद छोडेर भएपनि निजामती सेवाको खरिदार पदमा काम गरेका घटना धेरै छन । त्यस्ता घटनाका पछाडी त्यहि शिक्षक र शिक्षा माथी दोष लगाउने गरीन्छ । नत्र किन अधिकृत समानको पद छोडेर खरिदारमा नियुक्ती लिने गर्छन ? अनि शिक्षकले आफ्नो काम गरेको पारिश्रमिक पाउन पनि चार चार महिना पर्खीनु पर्ने ? विश्वका अन्य देशमा र छिमेकी देश भारतमा मात्र हेर्ने हो भने शिक्षक लाई हेर्ने दृस्टीकोण फरक देखिन्छ ।अन्य रोजगारी भन्दा शिक्षकलाइ बढी मान्यता,सेव,सुविधा दिएको पाइन्छ । त्यही भएर त्यहाँको शिक्षा प्रणाली र शिक्षा गुणस्तरिय भएको हो कि ? हाम्रो देशमा भने निजामती सेवा र अन्य सेवा प्रवेश गर्न नसकेर शिक्षक भएका हुन भन्ने सोचाइ छ । यस्तो सोचलाइ गलत साबित गर्न,शिक्षकहरूलाई पनि माथिल्लो तहमा बढुवा भएमा योग्यता,क्षमता छ भनेर काम गर्न दिदा सामुदायिक विद्यालयमा तहगत र विषयगत दरबन्दीको समस्या नपर्ने र विद्यालयको पठनपाठन पनि राम्रो भएर जानेछ । शिक्षा दिगो,शिक्षण सिकाइ राम्रो बनाउनका लागि उत्प्रेणा पुरस्कार र पुनर्बलको आबश्यकता पर्दछ । तर त्यो शिक्षण र शिक्षकहरूमा अहिले सम्म सही रूपले मूल्याकन गरी आफ्नोलाई नभइ राम्रो गर्नेलाई पुरस्कार र कमजोरलाई सजायको व्यवस्था प्रभावकारी रूपले लागू भएको छैन । काम गर्ने शिक्षक तथा कर्मचारीलाई मनोवल उच्च बनाउन,थप साथ दिन अब फरक किसिमको व्यवस्था गर्न ढिलो गर्न हुदैन,यस्ता कार्यले शिक्षा र शिक्षण पेसामा राज्य र नागरिकले चाहेको जनशक्ती तयार हुन्छ ।

निचोड :
देशको शिक्षा प्रणाली नै सुधार गरी राज्यलाइ असल बनाउनका लागि सरकार,आम नागरिक,समुदायले शिक्षा,शिक्षण पेसा र शिक्षकलाइ हेर्ने दृष्टिकोण बदल्नु र राज्यले शिक्षामा लगानी वृद्दी गर्नु पर्छ । राज्यले शैक्षिक नीति नियमहरूमा समसायिक परिमार्जन र सुधार गरी,सेवा सुबिधा,सरुवा,बढुवा पुरस्कार, पुनर्बल,दण्ड र सजायको सहि रूपले कार्यान्वयन गर्नु पर्छ । शिक्षकलाइ शैक्षिक,सामाजिक,राजनैतिक, मनोबैज्ञानिक र पेशागत विभिन्न तरिकाले अन्य सेवा भन्दा फरक बनाउनु आवश्यक छ । किनकि समाजमा शिक्षक र असल गुरूका शिक्षाले राजनिती गर्ने राजनितिकर्मी, उधोगि, ब्यबसायी, डाक्टर, इन्जिनियर,निजामति कर्मचारिहरु र अन्य कर्मचारीहरू विद्यालयबाट नै तयार हुने गर्दछन ।

अब समग्र शिक्षा प्रणालीलाई व्यावसायिक खालको शिक्षा प्रणाली अवलम्वन गरी सामुदायिक विद्यालयबाट निम्न स्तरको जनशक्ती तयार गरी विश्व बजारमा सजिलै परिचित भई अरू भन्दा अब्बल हुने जनशक्ती तयार गर्ने विद्यालयमा गरी खाने शिक्षाको पाठ्यक्रम निर्माण गरी लागु गर्ने लक्ष्य हुनु पर्दछ । गरी खाने अर्थात व्यावसायीक शिक्षाले शैक्षिक वेरोजगार नहुने,आफैले सिकेको सिप र ज्ञान प्रयोग गर्ने विद्यालय स्थापना गर्न सरकार र सबैले पहल कदमी गर्न आवश्यक छ । अन्य सेवाको कर्मचारी भन्दा कम सेवा,सुविधा र अन्य प्रावधान कम हुदा पनि कर्ममा रही रहने वा खटीने, विद्यार्थी र राज्यले चाहेको जनशक्ती तयार गराउन सहजीकरण गर्ने शिक्षकलाई आउनुहोस सबै मिलेर जेल हालौँ ।


राजन कार्की नयाँकिरण कमलकुसुम मावि,भोजाड चितवन र दिपेश भण्डारी श्री जनज्योति आधारभुत बिद्यालय आधिखोला ६ फापरथुम,स्याङ्जाका शिक्षक हुन् ।