बैतडी/ ४ असोज – लामो समय पछि बैतडीको पञ्चेश्वर गाउँपालिकामा पठनपाठन सुरु भएको छ । कोभिड–१९ का कारण लामो समय बन्द भएका विद्यालयहरु आईतबारदेखि सञ्चालनमा आएका छन् । पञ्चेश्वरमा जेठ यता कोरोना संक्रमित नदेखिएपछि गाउँपालिकाले सबै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर विद्यालयहरु सञ्चालन गरेको जानकारी दीएको छ ।
शिक्षक, विद्यार्थी सबैले समाजिक दूरी कायम गर्नुका साथै मास्क र सेनेटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले खबर एजुकेशनलाइ बताए । पहिलो दिन आधा जति विद्यार्थी उपस्थित भएका छन् विस्तारै विद्यार्थी आउने क्रम बढ्दै जाने उनले बताए ।
एउटा कक्षामा २० जना विद्यार्थी मात्रै राखिने अध्यक्ष चन्दले बताए । बढी विद्यार्थी भएका कक्षाहरुलाई दुई,तीन समुहमा विभाजन गरी मुख्य विषयहरु मात्रै पढाइने उनले जानकारी दिए ।
विद्यालय सुचारु हुनुभन्दा अघि सबै कक्षाकोठाहरु सेनटाइज गरेर मात्र कक्षा सञ्चालन गरीएको छ । गाउँपालिकाले बाहिरबाट आएका शिक्षकहरुलाई पिसिआर परीक्षण गरेर मात्रै कक्षा कोठामा पठाउने जनाएको छ । त्यस्तै भारत तथा अन्य जिल्लाबाट आएका ३० जना शिक्षकलाई होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष चन्दले जानकारी दिए ।
पञ्चेश्वर गाउँपालिकामा ३५ विद्यालयमा करीब ७ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।



