काठमाडौं /२६ भदौ – बैतडी जिल्लको पञ्चेश्वर गाउँपालिकाले अगामी असोज १ गतेदेखि विद्यालय पुनस् सञ्चालन गर्ने तयारी गरेको छ ।
गाउँपालिकाले कोरोना कहरसँगै चैत महिनादेखि बन्द रहेको विद्यालय पुनःसञ्चालनमा ल्याउने तयारी गरेको हो ।
गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थी समस्यामा परेकाले पुन सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । उनले भने, विद्यालय बन्द रहेको बेला पनि शिक्षकहरुले तलब लिएको गुनासो आउन थालेपछि विद्यालय पुनः सञ्चालनको तयारी गरिएको हो । साथै वैकल्पिक शिक्षाको लागि कुनै पनि आधार नभएको र केन्द्र सरकार,प्रदेश सरकार दुबैले बेवास्ता गरेको कारण विद्यालय सञ्चालन गर्नुको विकल्प नरहेको बताए ।
पञ्चेश्वर गाउँपालिका हाललाई कोरोनामुक्त भइसकेकोले विद्यालय पुनः सञ्चालनमा ल्याउदा कुनै समस्या नहुने उनको भनाइ छ ।
उनका अनुसार विद्यालयलाई संक्रमण मुक्त गरेर तथा सामाजिक दुरी कायम गरेर, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर विद्यालयमा पठनपाठन कार्य थालिने छ । गाउँपालिकामा ३५ विद्यालयमा ५ हजार बढी विद्यार्थी अध्ययनरत रहेका पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।