काठमाडौं/१९ भदौ- निजी विद्यालयले वैकल्पिक सिकाइ बापत शुल्क लिन पाउने भएका छन् । शुक्रबार भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहको अनुमतिमा निजी विद्यालयले वैकल्पिक सिकाइ वापत शुल्क लिन सकिने बताएका हुन् ।
उनले वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका २०७७ संशोधन गरी शैक्षिकसत्रको मान्यता दिने बताए । यसैगरी, विद्यार्थी अभिलेखीकरण तथा तथ्याङ्क सङ्कलनको प्रक्रिया शुरु हुने उनको भनाइ छ । कोरोना संक्रमण थप फैलिएको बताउँदै उनले भने,हतार हतार शैक्षिक संस्था खोल्ने निर्णय गरेर गर्नुभन्दा वैकल्पिक विधिको शिक्षालाई निरन्तरता दिइनेछ ।
बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
उनले वैकल्पिक प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिई पाठ्यक्रम समायोजनका लागि विश्वविद्यालय र सम्बन्धित निकायकाले काम गरिरहेको र स्थानीय तहले सिकाइको अनुगमन गरी प्रभावकारिता कायम गर्नुुपर्ने बताए ।



