शिक्षा मन्त्रालय द्धारा कक्षा ३ मा अध्ययनरत छात्रा सर्वोत्कृष्ट पाठक घोषित

काठमाडौं / १७ भदौ- १३ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा कक्षा ३ मा अध्ययनरत छात्रा सर्वोत्कृष्ट पाठक घोषित भएकी छिन् । बेलकोटगढी नगरपालिका-१० तादीमा रहेको वरदेवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेल यस वर्षको सर्वोत्कृष्ट पाठक घोषित भएकी हुन् ।


समाज रुपान्तरणका लागि पुस्तकालय भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल रुपमा मनाइएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाले कँडेल यस वर्षको सर्वोत्कृष्ट पाठक भएको घोषणा गरेका थिए ।


कार्यक्रमको अवसर आयोजित भर्चुअल समारोहका प्रमुख अतिथी एवं शिक्षा, विज्ञान तथा प्रविध मन्त्री गिरिराजमणि पोखरेलले उनीलाई भर्चुअल रुपमै प्रशंसापत्र प्रदान गरेका थिए । कोभिड-१९ को विषम परिस्थिति सहज भएपछि एक कार्यक्रमका बीचमा प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

नेपालमा सम्वत् १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरविक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै सम्वत २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो । यसवर्ष कोरोना भाइरसका कारण भर्चुअल रुपमा पुस्तकालय दिवस मनाइएको थियो ।