अनलाइन कक्षा अध्ययनका लागि प्याब्सन र टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ सम्झौता

काठमाडौं/१७ भदौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थीलाई अनलाइन कक्षा अध्ययनका लागि सहज होस् भन्ने उदेश्यका साथ नेपाल टेलिकमसँग ‘ह्याप्पी लर्निङ प्याक’ का लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार देशभरका विद्यालयस्तरका विद्यार्थीले कम्पनीले उपलब्ध गराइरहेको न्यूनतम मूल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रूपले प्रयोग गर्न सक्ने जनाइएको छ ।


प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँमा २४ जिबी र ५ सय रुपैयाँमा ३५ जिबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जिबी डाटा प्याकेजमा २० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जिबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै, ३५ जिबी डाटा प्याकेजमा ३० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जिबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सक्नेछन् ।


ञह्याप्पी लर्निङ प्याकझ नेपाल टेलिकमले प्रदान गर्ने जिएसएम मोबाइल ९टुजी, थ्रिजी र फोरजी० को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने र दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।
सम्झौतामा टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनका उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका छन् ।


कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच मिति २०७७ भदौ ८ मा सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरूका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यालय तहका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता गरिएको टेलिकमले जनाएको छ ।