काठमाडौं/१७ भदौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुको शैक्षिकसत्र खेर जान नदिने गरी कार्यतालिका बनाइने बताए ।
आज अनेरास्ववियुले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि तहको शैक्षिकसत्र खेर जान नदिनका लागि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने जानकारी दिए ।
उनका अनुसार वैकल्पिक सिकाइका लागि सरकार अन्तर्गत छुट्टै शैक्षिक टेलिभिजन खोल्ने तयारी गरिएको छ ।
मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको र प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक लिनु भएको बताउँदै उनले भने, टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ।