इक्यानका पूर्व अध्यक्षको अभिव्यक्ति प्रति नेकाको आपति

काठमाडौं /१६ भदौ – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले नेपाल शैक्षिक परामर्श संघ इक्यान का पूर्व अध्यक्ष बुद्धि प्रसाद रेग्मीले दिएको अभिव्यक्तिलाई लिएर आपति जनाएको छ ।


नेकाले प्रेस विज्ञप्ति जारी गर्दै भदौ १२ गते दिनको ११३० देखी १३० बजे सम्मको इक्यानको भर्चुअल फोरममा र आफ्नै फेसबुकमा रेग्मीले दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, हाम्रो संस्थाको साख, गरिमामा आँच र्पुयाउने, छवि धुमिल गर्ने तथा अन्तर संस्था बीचको सम्बन्धमै सुदुर भविष्य सम्म खलल र्पुयाउने सो भनाइको हामी घोर भत्सना गर्दछौं । मर्यादित संघको एकजना पूर्व अध्यक्षको अमर्यादित भनाइ प्रति अनौपचारिक रुपमा संघका जिम्मेवार पदाधिकारी समक्ष छलफल पश्चात संघको अध्यक्षले अन्तिम दिनको भर्चुअल सेसनमै कार्यक्रमको दौरान अभिव्यक्त धारणाहरु संस्थाको आधिकारिक धारणा नभई निजको व्यक्तिगत धारणा भएको भनिएको भएतापनि वक्ताको सो भनाइलाई संस्थाको र निजको समेत सामाजिक सञ्जालबाट नहटाउनु, कुनै कारवाही नगर्नु कतै अराजकता, अशिष्टतालाई पृस्ठ पोषण त हैन भन्ने गम्भीर आशंका समेत उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।


नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले अभिव्यक्ति स्वतन्त्रताको मर्यादा विपरीत बोलिएको सो अभिव्यक्तिका लागि निजले आत्मालोचना सहित माफी माग्नुपर्ने तथा संघले त्यस्ता व्यक्तिलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन ।


कोरोना कहरका कारण चौतर्फी असर परिरहेको, व्यवसायिक चूनौतीहरू थपिएको यस गम्भीर परिस्थितिमा यस्तो अप्रासंगिक, भ्रामक, घृणित भनाई प्रति तत्काल आत्मालोचना सहित माफी माग्नुपर्ने तथा संघले त्यस्ता व्यक्तिलाई हदैसम्मको कारवाही गर्नु पर्ने अन्यथा हामी संस्थाको गरिमा र मर्यादालाई अक्षुण राख्न कठोर निर्णय लिन बाध्य हुने नेकाले जानकारी दिएको छ ।