क्यानाडामा विद्यालय खोल्ने तयारी, सञ्चालनको लागि स्वास्थ्य कोष स्थापना


काठमाडौ/ १२ भदौ – क्यानेडाली प्रधानमन्त्रीले कोरोना माहामारीका कारण बन्द रहेका विद्यालय फेरी विद्यालय खोल्न एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गरेका छन् । जस्टिन ट्रूडोले उक्त रकम प्रान्त र क्षेत्रीय सरकारलाई र विद्यालयलाई सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याउनका लागि उपलब्ध गराउने घोषणा गरेका हुन् ।

त्याहाका प्रान्त र क्षेत्रीय सरकारले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको विवरणहरू सार्वजनिक गरिरहेको अवस्थामा विद्यालय पुनः सञ्चालनको लागि स्वास्थ्य सुरक्षा सहयोग कोष स्थापना भएको हो ।

उक्त कोष प्रान्त र क्षेत्रहरूलाई स्थानीय विद्यालयमा विद्यार्थी र कर्मचारीहरू जाँदा संक्रामणबाट सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूको लागि खर्च गरीने छ । जस अन्तर्गत विद्यालयहरूमा सिकाइका लागि अतिरिक्त स्थान, स्वच्छ हावा, हात सफा गर्ने साबुन तथा सफाईका अन्य सामान र व्यक्तिगत सुरक्षाका सामानहरू मास्क, स्यानिटाइजर लगायतको व्यवस्था गरिनेछ ।

“बालबालिकालाई सुरक्षित रूपमा विद्यालय फर्काउनु अर्थव्यवस्थालाई पुनः सुरु गर्न महत्वपूर्ण छ । यसले अभिभावकलाई आफ्ना बच्चाहरूको स्वास्थ्यको बारेमा कुनै चिन्ता नगरी विद्यालय फर्किन सघाउने विश्वास मैले लिएको छु” प्रधानमन्त्री ट्रुडोले भने

“हाम्रा बच्चाहरू कक्षाकोठामा सुरक्षित हुनुपर्दछ । यो वेवास्ताा गर्न नहुने विषय हो,” उनले भने । ट्रूडो सरकारले आदिवासी समुदाय रहेका विद्यालयहरूमा ११ करोड क्यानडेली डलर लगानी गर्ने यस पहिले नै घोषणा गरीसकेको छ ।
मध्य मार्चदेखि क्यानडाका विद्यालय बन्द पछि विद्यार्थीहरूले घरबाटै अनलाइन कक्षाहरू लिँदै आएका छन् ।