छाेराछाेरीलाई निजी विद्यालयमा पढाउने सरकारी विद्यालयका शिक्षक कार्वाहीमा

काठमाडौं/१० भदौ – सरकारी विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएपछि कार्वाहीमा परेका छन् । दैलेखमा निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरिएको हो ।

गुराँस गाउँपालिकाले तीन शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै कारबाही गरेको हो । गाउँपालिकाले गुराँस–५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ती शिक्षकलाई जनही रु १० हजार जरिवाना गरेको छ । गाउँपालिकाले सरकारी कर्मचारी र शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।

सो निर्णयमा गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने र त्यसो गरेको पाइएमा १० हजार जरिवाना गरिने उल्लेख छ । उक्त निर्णयको पालना नगरेको भन्दै निर्णयअनुसार उनीहरुलाई कारबाही गरिएको हो । विद्यालयमा कार्यरत शिक्षक पदमबहादुर नेपाली, रोशनी मल्ल र कमलाकुमारी चन्दले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै रु १० हजार जरिवानास्वरुप गाउँपालिकाको खातामा जम्मा गर्न भनिएको छ ।

यस्तै, विद्यालयले समेत एक पत्र लेख्दै निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकहरुलाई गाउँपालिकाको आन्तरिक राजस्व कोषमा रकम दाखिला गरी रकम दाखिला गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *