पाठ्यक्रम विकास केन्द्र द्धारा ११ मा भर्नाको आधार तय

काठमाडौं/३ भदौ – पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि आधार तय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेपछि केन्द्रले कक्षा ११ मा भर्नाका लागि आधार तय गरेको हो ।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्नका लागि औसत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । यस्तै, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका अन्य विषय अध्ययन गर्नका लागि जिपिए १.६ र अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ल्याउनुपर्ने केन्द्रले जनाएको छ ।

केन्द्रले प्राविधिक तथा व्यवसायिक शिक्षा र परम्परागत शिक्षा अध्ययनका लागि भने पुरानै भर्ना आधार मान्ने हुने जनाएको छ ।