दरबन्दी मिलान तत्काल स्थगित गर्न शिक्षक महासंघ ललितपुरकाे माग

काठमाडौं/४ भदौ- नेपाल शिक्षक महासंघ ललितपुरले शिक्षक दरबन्दी मिलानको कार्य तत्काल स्थगित गर्न माग गरेको छ । बुधबार शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले देश कोरोना महामारीको सन्त्रासमा रहेको यो जटिल अवस्थामा दरबन्दी मिलानको नाममा अस्थायी, करार र राहत शिक्षकहरुलाई भयभित पार्ने काम स्थगित गर्नुपर्ने माग गरेको हाे ।

हाललाई दरबन्दी मिलानको कार्य स्थगित गरी प्रत्येक वर्ष शैक्षिक सत्रको शुरुको महिनाको विद्यार्थी संख्या, भौगोलिक अवस्था, कक्षागत अवस्था र विषयगत अवस्थालाई समेत आधार मानेर मात्रै नियमित रुपमा दरबन्दी मिलानको कार्यलाई अगाडि बढाउनुपर्ने महासंघको माग छ । महासंघले विगतमा शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग गरिएको ३० बुँदे सम्झौतालाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने, इसिडिमा अध्यापन गराउने शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयोगीको सेवा सुविधा ट्रेडयुनियनले तोकेको न्यूनतम मापदण्ड पूरा हुने गरी यथासिघ्र व्यवस्था गर्नपनि माग गरेको छ ।

यस्तै, साविक उमाविमा कार्यरत शिक्षकहरुको उचित व्यवस्थापनको लागि ऐनमा यथोचित व्यवस्था गरी स्थायित्वको सुनिश्चितताको लागि प्रक्रिया यथासिघ्र अगाडि बढाइनुपर्ने, संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सेवा सुविधाको सुनिश्चितता गरिनुपर्ने साथै, हाल सञ्चालित भर्चुअल कक्षालाई प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीहरुको पहुँचमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने महासंघकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।

शिक्षक महासंघ ललितपुरको संयोजनमा ललितपुरमा कार्यरत शिक्षक कर्मचारीका पेशागत संस्थाहरुको संयुक्त छलफलद्वारा तयार गरी इकाइ प्रमुखलाई ध्यानाकर्षण पत्र पेश गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *