मनोज गैरे
निर्देशक,शिक्षा तथा सामाजिक विकास निर्देशानलय,प्रदेश ५
राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक तह कक्षा १० को (एसईई) परीक्षाको विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई प्रमाणिकरण गरी नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै टीका टिप्पणी सुरु भइसकेको छ ।
शिक्षक र शिक्षाकर्मीहरुबाटै सामाजिक सञ्जालमा छरपस्ट रुपमा नतिजा बारे विभिन्न धारणा व्यक्त गरिएको देखिन्छ । विद्यालयले गरेको आन्तरिक मुल्यांकन माथि धेरैले प्रश्नचिह्न खडा गरेका छन् । हाम्रो परीक्षा विधि,पद्धति र अहिलेको समस्याबाट सिर्जित अवस्थाले ल्याएको परिणाम हो, यो । शिक्षण सिकाइ सँग सम्बद्ध विद्यालयमा उपलब्ध सुविधा, भौतिक पूर्वाधार, शिक्षण सिकाइ क्रियाकलाप, हाम्रो परीक्षा प्रशासन तथा उत्तर पुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गर्ने विगतका वर्षहरुको परिपाटीले गर्दा आज यस्तो समस्या आएको हो । तीन घण्टे परीक्षालाई आधार मानी वर्षभरिको विद्यार्थीको मुल्यांकन गर्ने विधिले सिर्जित समस्या हो । विद्यालयको आन्तरिक मुल्यांकन माथि प्रश्नचिह्न उठाउनु भन्दा पहिले विगतको पद्धतिलाई मुल्यांकन गर्न आवश्यक छ ।
लिखित परीक्षाबाट प्राप्त भएका नतिजाहरु के साच्चिकै यथार्थपरक र विश्वसनीय थिए त ? विद्यार्थीले १० वर्षसम्म सिकेका अनुभवहरु तीन घन्टे परीक्षाबाट व्यक्त गर्न लगाउने, २ महिना भित्र उनीहरुका अनुभवहरु मुल्याङ्कन गर्न लगाउनु ? हतार हतारमा शिक्षकहरुले उत्तर पुस्तिका परीक्षण गरी अङ्क दिनु कति व्यवहारिक थियो होला ? फेरी सुविधा सम्पन्न शहरका विद्यालयका विद्यार्थीहरु र सुविधाबाट वञ्चित दुर दराजका विद्यार्थीहरुलाई एउटै प्रश्नपत्रबाट अनुभव व्यक्त गर्न लगाई एकै किसिमको परीक्षण प्रणालीबाट मुल््याङ्कन गर्नु के न्याय सङ्गत थियो होला ? विद्यार्थीले के सिक्यो ? कति सिक्यो भन्ने कुरा उसँग सधै नजिक रहेको शिक्षकलाई थाहा नभए अरु कसलाई थाहा होला ? ख्याल गर्न पर्ने चुरो कुरो यही होइन र ?
अघिल्लो वर्ष एक सय ६ जनाले ४ जीपीए ल्याएकोमा यसवर्ष नौ हजार भन्दा बढी विद्यार्थीले ४ जीपीए ल्याएकोमा यसको आलोचना गर्नु पूर्व गत वर्ष के एक सय ६ जना मात्रै ४ जीपीए ल्याउन योग्य थिए त ? यसको पनि त सुक्ष्म विश्लेषण गर्नु पर्ला नि ? रह्यो शिक्षकको कुरा हाम्रा शिक्षकहरु विद्यार्थीको सिकाइ अनुभव मुल्याङ्कन गर्न अक्षम हुनु हुन्न । राष्ट्रिय परीक्षा बोर्डले जुन सूत्र प्रयोग गरी मुल्याङ्कन गर्न निर्देशन दिएको थियो, त्यसमा विद्यालय केही मात्रामा चुके पनि होलान् । सायद बाहिरी दवाव (अभिभावकको) आएको हुन सक्छ वा अन्य यस्तै । जसले गर्दा नतिजाको बारेमा टिका टिप्पणी हुनु स्वभाविक हो ।
यसवर्ष १.६ भन्दा कम जीपीए ल्याई कक्षा ११ मा भर्ना हुन नपाउने विद्यार्थीहरु पनि त छन् होला कि छैनन् होला ? छन् भने कति होलान ? बोर्डले कति विद्यार्थीले कति जीपीए ल्याए भन्ने कुरा सार्वजनिक नगर्दा पनि नतिजालाई लिएर विभिन्न आलोचना भएको हो । राम्रो जीपीए ल्याउने विद्यार्थीलाई मात्र हेरेर थोरै जीपीए ल्याउने विद्यार्थीलाई छायामा राखी नतिजाको आलोचना गर्नु भन्दा पनि यसबाट पाठ सिकि सम्बन्धित व्यक्ति सुधार गर्दै लैजानु पर्छ । विद्यार्थीहरुले पनि विद्यालयले गरेको मुल्यांकनलाई आधार मानी उत्साहित र होत्साहित हुने भन्दा पनि आफूले आफैलाई मुल्यांकन गरी अघि बढ्नुपर्छ ।