काठमाडौं/ १ भदौ – नेपाल शिक्षक महासङ्घको नेतृत्व विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । २०७६ चैतमा निवृत भएका अध्यक्ष बाबुराम थापाको नेतृत्व मान्ने नहुने भन्दै महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी लगायतका व्यक्तिहरु अध्यक्षको विरुद्ध छन् भने केही व्यक्ति र संघ संगठन अध्यक्ष थापाको पक्षमा छन् ।
विवादकै कारण नेपाल शिक्षक महासङ्घले हिजोबाट गर्ने भनेको प्रदेशस्तर भेला तथा प्रशिक्षण कार्यक्रममा दुई खाले धारण व्यक्त भएको छ । महासचिव सुवेदीका समर्थन र अध्यक्ष थापाका पक्षले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । जसमा महासचिव सुवेदीले भेला र प्रशिक्षणका बारेमा कुनै निर्णय नभएकोले उक्त कार्यक्रमा सहभागि नहुन महासङ्घ सम्बन्धित सबैलाइ अनुरोध गरेका छन् भने अध्यक्ष थापा पक्षकाले सहभागी हुन आग्रह गरेको छ ।
नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले महासङ्घको नाममा सामाजिक सञ्चाल मार्फत हुने भनेका कार्यक्रमहरु म्हासङ्घको कुनै निकायको औपचारिक बैठकमा निर्णय नभएको विज्ञप्ति मार्फत बताएका छन् । उनले उक्त कार्यक्रममा सहभागी नहुन र नगराउन महासङ्घसँग सम्बन्धित सबैलाई आग्रह गरेका छन् । तीन महिना अघिनै महासङ्घका महासचिव सुवेदी समूहले थापालाई अध्यक्षको हैसियतले महासङ्घीय कुनै पनि पदीय गतिविधिमा संलग्न नहुनका लागि सचेत गराएको थियो ।
यस्तै, अध्यक्ष थापाको पक्षमा रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विज्ञप्ति नै जारी गरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । संगठनका महासचिव हंसबहादुर शाहिद्वारा हस्ताक्षरित विज्ञप्तिमा साउन २७ गतेको दिन महासङ्घको कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गर्को जनाएको छ । महासङ्घको नेतृत्व विवादका कारण कार्यक्रम बारे दुई खाले धारणा व्यक्त भएको हो ।
त्यसैगरि शिक्षा ऐनले निवृत्त व्यक्ति महासंघको अध्यक्ष हुने व्यवस्था नगरेको अवस्थामा पनि बाबुराम थापालाई अध्यक्षकै हैसियतमा प्रतिनिधित्व गराएको भन्दै महासङ्घ आवद्ध विभिन्न ८ संघसंगठन अध्यक्ष थापाको विरुद्धमा रहेका छन् । उनीहरुले यस विषयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण समेत गराएका छन् ।
उमेर हदका कारण थापाको गत चैतमा अवकास भए पनि अध्यक्षकै हैसियतमा रहेपछि विवाद बढ्दै आएको छ । थापा आवद्ध महासङ्घको घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अर्को व्यक्ति पठाउनु पर्ने भएपनि थापालाई नै निरन्तरता दिए पछि विवाद चुलिदैं आएको छ ।