काठमाडौं /१ भदौ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले न्यूनतम ६ महिनाको कोभिड १९ केन्द्रित क्यालेन्डर र कार्यतालिका एक साताभित्र सार्वजनिक गर्न सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।
आइतबार विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको अनलाइन बैठकमा शिक्षा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।उनले कोरोना महामारीको सामना गरेको ५,६ महिना बितिसकेको र यस अवधिमा सबै विश्वविद्यालयले आफ्ना विद्यार्थी ट्रयाकिङ गरिसकेको हुनुपर्ने बताए । उनले सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई हामी अध्ययन गरिरहेका छौँ भन्ने महसुस गराउन सक्नुपर्नेमा जोड दिए ।
उनले बैठकमा राष्ट्रिय योग्यता प्रारूप मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति आइसकेकोले यसको आधारमा विश्वविद्यालयले आफ्ना काम अघि बढाउने सक्ने जानकारी दिए । उनका अनुसार कोभिड केन्द्रित भएर शिक्षा नीतिलाई परिमार्जन गर्ने तयारीमा मन्त्रालय जुटेकोले समयमै सुझावहरू दिन पनि अनुरोध गरे ।
बैठकमा सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिले आ–आफ्ना विश्वविद्यालयको अवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले विद्यार्थीको ट्रयाकिङ गर्न बाँकी रहेको, परीक्षा सम्पन्न भएकाहरूको नतिजा प्रकाशन गर्ने कार्य भइरहेको बताए भने पासआउट हुने विद्यार्थीको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न समस्या रहेको र डाटासेन्टर नभएकोले साझा डाटा सेन्टर स्थापना गर्दा प्रभावकारी हुनेलगायतका सुझाव दिएका थिए ।