काठमाडौं/२९ साउन- त्रिभुवन विश्वविद्यालयले शैक्षिकसत्र प्रभावित हुने भएपछि सेमेस्टर प्रणालीकाे परीक्षा अनुकुल समयमा लिने गरी माथिल्लो कक्षामा पढाउने तयारी थालेकाे छ ।
त्रिविले विद्यार्थीहरुकाे शैक्षिकसत्र प्रभावित हुन नदिन सेमेस्टर प्रणालीका विद्यार्थीलाई माथिल्लो कक्षामा पढाउने भएकाे छ । परीक्षा अनुकुल समयमा सञ्चालन गरी माथिल्लो कक्षाकाे पठनपाठन सुरु गराउने तयारीमा त्रिवि लागेकाे छ ।
कोरोना भाइरस (कोभिड–१९ ) का कारण चैत महिनादेखि विश्वविद्यालय बन्द हुँदा स्नातक तह र स्नातकोत्तर तहकाे परीक्षा स्थगित भएपछि शैक्षिक क्यालेन्डर प्रभावित भएको छ ।
परीक्षा प्रभावित हुँदा स्नातक र स्नातकोत्तर तहका ४ लाख १५ हजार विद्यार्थी अन्योलमा छन् । त्रिविले सरकारले लकडाउन अन्त्य गरेकाे घाेषणा गरेसँगै स्थगित परीक्षा भदौदेखि असोजसम्म परीक्षा सक्ने गरी परीक्षा तालिकासमेत सार्वजनिक गरेकाे थियाे । तर, कोरोना संक्रमितको सङ्ख्या बढेपछि त्रिविले परीक्षा स्थगित गरेको छ ।