काठमाडौं/२७ साउन – कोरोना भाइरसका कारण बन्द भएका श्रीलङ्का सबै सरकारी विद्यालयहरु सोमबारदेखि पुनःसञ्चालनमा आएका छन् ।
स्वास्थ्य निर्देशिका जारी गर्दै झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु पुनःसुचारु भएको अधिकारीहरुले जानकारी दिए । विद्यालय सुचारु गर्नका लागि जारी गरिएको स्वास्थ्य निर्देशिकामा सबैले मास्क अनिवार्य लगाउनु पर्ने, साबुनपानीले हात सफा गरिरहनु पर्ने वा सेनिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, सामाजिक दूरी कायम गर्दा कम्तीमा एक मिटर टाढा रहनुपर्ने निर्देशिकामा समेटिएको छ ।
शिक्षा मन्त्रालयले दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयहरुमा आलोपालो अध्ययनको व्यवस्था गर्न सूचित गरेको छ । श्रीलङ्कामा सोमबारसम्म देशभरी दुई हजार आठ सय ४४ जना सङ्क्रमित भएका छन् भने ती मध्ये दुई हजार पाँच सय ९३ जना निको भइसकेका छन् । हाल सम्म श्रीलङ्कामा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ ।