विश्वविद्यालयले विकल्प नखोज्दा विद्यार्थीहरुको भविष्य अन्योलमा


काठमाडौं/ २४ साउन – सरकारले लकडाउन अन्त्य गरेको घोषणा गरेसँगै विश्वविद्यालयहरुले कोरोना भाइरसका कारण स्थगित गरिएका परीक्षाहरु लिने सूचना जारी गरे । स्थगित परीक्षाहरु भदौको पहिलो, दोस्रो, तेस्रो र अन्तिम हप्तामा सञ्चालन गर्ने विश्वविद्यालयको योजना थियो ।

कोरोना कहरकै बीचमा परीक्षा लिने विश्वविद्यालयको निर्णयलाई धेरैले विरोध पनि गरेका थिए । विश्वविद्यालयले भने भौतिक दूरी, स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै परीक्षा लिने निर्णय गरेको थियो । साउन १५ गतेदेखि परीक्षा तालिका सार्वजनिक गरी परीक्षा गर्ने तयारीमा रहेका विश्वविद्यालयहरु अहिले आफ्नै निर्णयबाट पछि हटेका छन् । कोरोना संक्रमणको संख्या बढ्दै गएको, बाढी पहिरोका कारण बाटो सुचारु नभएको र विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकाले अर्को सूचना नआउँदा सम्मका लागि भन्दै परीक्षा स्थगन गरिएको छ । विश्वविद्यालयले हाललाई परीक्षा स्थगन गरेपछि धेरै विद्यार्थी खुसी भएका छन् । कोरोना कहरकै बीचमा परीक्षा दिनुपर्छ भनेर चिन्तित बनेका विद्यार्थीहरुले अहिले राहात महशुस गरेको भएपनि उनीहरुको भविष्य भने अन्योल बनेको छ ।


विश्वविद्यालयले परीक्षा लिने सूचना जारी गरेसँगै परीक्षाको तयारीमा रहेकी मदन भण्डारी ममोरियल कलेज बीए स्नातक अन्तिम वर्षमा अध्ययनरत छात्रा एलिसा पोखरेल अब कहिले परीक्षा हुन्छ भनेर पखेर बसेकी छिन् । परीक्षा गर्ने भनेको एक हप्ता नपुग्दै परीक्षा स्थगित भएपछि उनी भन्छिन् कोरोना कहरका कारण परीक्षा स्थगित भएको पाँच महिना बितिसक्दा पनि परीक्षाको विषयमा कुनै ठोस निर्णय नहुँदा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । अवस्था सामान्य भएपछि विश्वविद्यालयले परीक्षा लिने भनेको भएपनि अवस्था कहिले सामान्य हुने हो थाहा छैन । त्यसैले, जुन ठाउँमा छौं त्यही स्थानबाट परीक्षा लिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा लिन उनी सुझाव दिन्छिन् । कति विद्यार्थी र अभिभावकालाई यस्तो त्रासको बेलामा परीक्षा लिनुपर्छ भन्ने कुरा चित्त नबुझाउने भन्दै उनी भन्छिन् विद्यार्थीको भविष्य अन्योल हुनुभन्दा परीक्षा लिनु नै उत्तम हुन्छ ।


यस्तै, कमर्स क्याम्पस बिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्रा सम्झना ढुङ्गेल पनि नेपालको शिक्षा प्रणाली देखि आजित भएकी छिन् । कोरोना कहरकै अवस्थामा परीक्षा नलिने विश्वविद्यालयको निर्णय छ । परीक्षा नभएपछि अर्काे शैक्षिकसत्र पनि सुरु हुँदैन । जसले गर्दा एक वर्ष लस हुने हो कि भने उनलाई चिन्ता छ । दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्ष जानु पर्ने उनी दोस्रो वर्षको परीक्षा नहुँदा चिन्तित बनेकी छिन् । उनी भन्छिन् अवस्था कहिले सामान्य हुन्छ र परीक्षा हुन्छ । अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा गराउने भन्दा पनि विश्वविद्यालयहरुले अन्य विकल्प खोज्नुपर्ने उनले बताइन् । विद्यार्थीको शैक्षिकसत्रलाई असर नहुने गरी विश्वविद्यालयले भौतिक उपस्थितिको परीक्षाको विकल्प खोजी नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने उनको भनाइ छ ।


‘सिकाइ सहजीकरण प्रारूप २०७७’ स्वीकृत गरी परीक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको प्रारुपलाई आयोगको असार १९ गते बसेको बैठकले निर्देशिकाको रूपमा जारी गरेको थियो । आयोगले जारी गरेको निर्देशिकाअनुसार विश्वविद्यालयमा लकडाउनका कारण रोकिएका परीक्षालाई सञ्चालन गर्न विभिन्न विकल्प प्रस्तुत गरेको थियो ।


प्रारूपको बुँदा १३ मा परीक्षासम्बन्धी गरिएको व्यवस्थामा विश्वविद्यालयका सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्न सकिने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । विश्वविद्यालयहरूले सुरक्षा प्रोटोकल अपनाएर सामाजिक दुरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने र अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।


यस्तै, विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिका लागि उपयुक्त भारसहितको परीक्षा व्यवस्था गर्न सक्ने प्रारूपमा उल्लेख छ । त्यसरी, परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतीकरणहरू, अनलाइन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरैमा उत्तर लेख्ने, अनलाइन भाइवा आदिलाई विकल्पको रूपमा कार्यान्वयन गर्न सकिनेछ ।


यस किसिमका मूल्यांकन साधन र विधिको प्रयोग गर्दा कम्तीमा तीनवटा साधन प्रत्येक विषयमा प्रयोग गर्नुपर्ने प्रारूपमा व्यवस्था गरिएको छ । विश्वविद्यालयहरुले अहिलेको अवस्थामा भौतिक उपस्थिति बाहेकका अन्य विकल्पहरुलाई अनुशरण गरी विद्यार्थीहरुको शैक्षिकसत्र नोक्सान हुनबाट बचाउने काम गर्नुपर्छ । कहिले अवस्था सामान्य हुन्छ परीक्षा लिन्छु भन्दा पनि विद्यार्थीको शैक्षिकसत्र नोक्सान हुन नदिई मुल्यांकन गर्ने व्यवस्था गर्नुपर्छ ।