वैकल्पिक सिकाइ शैक्षिकसत्रमा गणना हुने

काठमाडौं/२३ साउन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षाकाेठामा भेला भएर पढ्ने वातावरण नरहेकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने उनकाे भनाइ छ । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोखरेलले वर्तमान अवस्था सामान्य नरहेकाले विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाइ शैक्षिकसत्रसँग जोडिने र शैक्षिकसत्रको गणना हुने भन्दै वैकल्पिक सिकाइलाई स्थानीय सरकारले जोड दिनुपर्ने बताए ।

शिक्षालयलाई संक्रमण हुने केन्द्रको रूपमा अगाडि बढ्न नदिन सरकार सचेत रहेको उनकाे भनाइ छ । उनले स्कुलको पुनः सञ्चालनको लागि कार्य ढाँचा निर्माणको अन्तिम चरणमा रहेकाे जानकारी दिए । यस्तै, उनले सामुदायिक स्कुलका शिक्षकलाई साउन महिनाभित्र स्कुल पुग्न निर्देशन भएको र सो विषयमा सरकारले कुनै पनि किसिमको छुट दिन नसक्ने बताए । बैठकमा केही सीमित सदस्यले निजीक्षेत्रबाट सञ्चालित विद्यालयले अनलाइन शिक्षा सुरु गरेको भए पनि तिनै स्कुलका शिक्षकले तलब नपाएको तर सामुदायिक स्कुलका शिक्षकले बसीबसी तलब पाइराखेको भन्दै उनीहरूको समस्याको सम्बोधन पनि सरकारले गर्नुपर्ने धारणा राखेका थिए ।

केही सदस्यले विगतमा मुनाफा कमाएका निजी स्कुलले शिक्षकलाई तलब दिन नसके ती स्कुलका विद्यार्थी र शिक्षकको जिम्मा सरकारले लिनुपर्ने धारणा राखेका थिए ।