काठमाडौं /२३ साउन – सरकारले तत्काल विद्यालय खोल्ने परिस्थिति नरहेको बताएको छ ।
बिहिबार मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवाडले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएका हुन् । पछिल्लो समय बढेको जोखिमका आधारमा तत्काल उदार भएर विद्यालय खोल्ने अवस्था नरहेको उनको भनाइ छ । यसैगरी, सरकारले यातायात सेवा र अन्तर्राष्ट्रिय उडान संचालन गर्ने अवस्था नबनेको जनाएको छ ।
तर साउन १२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार २०७७ को बाँकी भएको नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको तथ्यांक भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यक्रम उपलब्ध गराउने, शिक्षकहरु विद्यालयमा उपस्थित हुने, विद्यालय भवन परिसरमा क्वारेन्टाइन वा आइसोलेसन नबनाउने, क्वारेन्टाइनका रुपमा प्रयोग भएका विद्यालयलाई निर्मलीकरण गर्ने जस्ता काम भने रोकिने छैनन्।