काठमाडौं/२० साउन-सरकारले यसवर्ष अनुदान शिक्षकका लागि बजेट पारित गरिसकिएको जनाएको छ । तर यो रकम समयमै निकासा नहुँदा शिक्षकहरु भने चिन्तित भएका छन ।
चालू आर्थिक वर्षको बजेट निकासा भएको दुई महिना बितिसक्दा पनि अनुदान शिक्षकको पारिश्रमिक स्थानीय तहमा निकासा नहुँदा उनीहरु चिन्तित भएका हुन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारले विद्यालयलाई दिँदै आएको अनुदान शिक्षकको रकम समयमै निकासा नहुँदा आफूहरुले पारिश्रमिक पाउने कि नपाउने भन्ने अन्योलमा शिक्षकहरु रहेका छन् ।
सरकारले सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि स्थानीय तह मार्फत अंग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालनमा ल्याएपछि आफूहरुलाई विस्थापित गर्न खोजिएकाले रकम निकासा नगरेको उनीहरुको गुनासो छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा तुलसीप्रसाद थपलियाले अनुदान शिक्षकको लागि बजेट पारित भइसकेको तर यसलाई कार्यान्वयनमा ल्याउन भने केही समय लाग्ने खबर एजुकेशनलाई जानकारी दिए । तर अघिल्ले वर्ष प्रयास गर्दा गर्दै र कोरोना भाइरसको कारणले बजेट निकासा गर्न नसकेको पनि उनले जानकारी दिए । उनले भने बजेट पारीत भईसकेको छ यो वर्ष जसरी पनि जुनै हालतमा पनि कार्यान्वयन हुन्छ ।