काठमाडौं/१० साउन- चितवनमा रहेकाे भीमाेदय माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेलले एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
विश्वभरिका सयाैं व्यक्तिहरुलाई ५० भन्दा बढी विधामा पुरस्कारकाे बिजेता घाेषणा हुने क्रम सुरु भएसँगै नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (Research under literal access (RULA)international award ) अवार्डका लागि छनोट गरिएको हो । सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ । पुरस्कार स्वरूप ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार दिइने जनाइएको छ । अवार्ड वितरणका दिन आफुले गरेका कामहरुको बारेमा प्रेजेन्टेसन दिनुपर्नेछ ।
डा. कँडेललाई गतवर्ष पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रअ अवार्ड प्रदान गरेको थियो । चितवन शिक्षक संघका अध्यक्ष समेत रहेका डा. कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यस अघि उत्कृष्ट प्रअको रुपमा सम्मान गरिसकेको छ । २०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका डा. कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहँदै आएका छन् ।
डा. कँडेलकाे दुढ इच्छाशक्तिका कारण केहीवर्ष अघि जिल्लामै गुमनाम विद्यालय आज मुलुककै उत्कृष्ट विद्यालय बन्न सफल भएकाे छ । उनकाे नेतृत्वमा अाएपछि विद्यालय प्रविधिमैत्री हुनुका साथै विद्यालयमा नयाँ नयाँ प्रयाेगहरु समेत गरिएकाे छ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था विद्यालयमा गरिएकाे छ । एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन नपाउने व्यवस्था विद्यालयमा छ ।
अंग्रेजी माध्यमबाट पठनपाठन हुनुका साथै बालमैत्री डेक्सबेञ्चकाे व्यवस्था छ ।