अष्ट्रेलियाले थाल्यो अर्को महिनादेखि अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने तयारी


काठमाडौं/४ असार–अष्ट्रेलिया सरकारले अर्को महिनादेखि उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने तयारी गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राज्य सरकारहरुसँग मिलेर अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने योजना परीक्षणका रुपमाा अगाडि बढाउने बताएका छन् । कोरोना र लकडाउनका कारण तेस्रो ठूलो आम्दानीको स्रोत रहेको शैक्षिक उद्योगमा असर परेपछि अष्ट्रेलियन सरकारले विभिन्न शैक्षिक निकायसँग मिलेर अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने योजना तयार गरेको हो ।
अष्ट्रेलियाका विश्वविद्यालयले भने यसअघि नै कोरोना भाइरसका कारण आगामी चार वर्षसम्ममा १६ अर्ब डलर बराबरको आम्दानीमा जोखिममा रहेको भन्दै सरकारलाई सचेत समेत गराएको थियो । अष्टे«लियन सरकारले विद्यार्थी ल्याउँदै गर्दा आवश्यक क्वारेन्टाइनको व्यवस्था समेत गरिने जनाएको छ ।
प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउनका लागि अन्तर राज्य आगमन खुला गर्नका लागि पहल गर्नुपर्ने बताए । अन्तर राज्य आगमन खुला नभएमा कोही विद्यार्थी पनि आउन नसक्ने उनको भनाई छ ।
यसका लागि दक्षिण अष्ट्रेलियाले जुलाई २० सम्ममा आफ्नो राज्यको सीमा खुला गर्ने बताएको छ भने क्विन्सल्याण्डले जुलाई १० देखि र तास्मानियाले पनि जुलाईको पहिलो हप्तादेखि सिमा प्रतिबन्धहरु खुला गर्ने बताएका छन् । यस्तै, न्यु साउथ वेल्स, भिक्टोरिया र एटीमा भने अहिले कुनैपनि अन्तर राज्य यात्रामाथि प्रतिबन्ध लगाएको छैन । सरकारको यस्तो निर्णयलाई त्यहाँ शैक्षिक संस्थाहरुले स्वागत गरेका छन् ।