काठमाडौं /२२ जेठ– बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौ (एन–प्याब्सन ,काठमाडौ ) ले क्वारेन्टाइन निमार्णका लागि कक्षाकोठा दिन नसकिने जनाएको छ ।
निजी विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिन सक्ने अवस्था नरहेको उल्लेख गर्दे विद्यालय भवन क्वारेन्टाइन बनाएको अवस्थामा बालबालिकामा मानसिक त्रास मात्र नभई समंग्रमा सामाजिक दबाब सिर्जना भई निजी शैक्षिक संस्थाको व्यवसाय नै खलल हुने सम्भावना रहेको एन–प्याब्सनको प्रेस विज्ञप्तिमा भनिएको छ ।
सरकारबाट निजी विद्यालयमा पर्ने जटिलतालाई सहजिकरण गर्ने खालको सम्बोधन नभएको समेत एन–प्याब्सनको गुनासो छ । सरकारले निजी विद्यालयलाई राहत हुने निर्णय नगरेमा काठमाडौंका ९० प्रतिशत विद्यालयहरु बन्द हुने एन–प्याब्सनले जनाएको छ ।
यस्तै, एन–प्याब्सनले सामुदायिक विद्यालयको व्यवस्थापनको जिम्मेवारी आफूहरुले लिन नसक्ने समेत प्रेस विज्ञप्तिमा मार्फत जानकारि गराएको छ ।
सरकारले माध्यमिक तह सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार, सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छ । बुधाबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन–प्याब्सनले गृहकार्य र छलफलबीना नै हचुवाको भरमा यस्तो निर्णय गरेको बताएको छ । कोरोना भाइरसका कारण उत्पन्न भएको यस्तो विषम परिस्थितिमा आफै जटिल मोडमा रहेको जनाउँदै, एन–प्याब्सनले सरकारको यो निर्णय सकारात्मक हुँदा हुँदै पनि आफूहरुले जिम्मेवारी लिन नसक्ने बताएका हुन् ।
सरकारद्वारा आर्थिक वर्ष २०७७/०७८ को बजेटले निजी विद्यालयका सञ्चालक र लगानीकर्तालाई होत्साहित बनाएको एन–प्याब्सन काठमाडौं जिल्लाको भनाई छ । विज्ञप्तिमा एन–प्याब्सनले सरकारले समंग्र शिक्षा क्षेत्रको व्यवस्थापनको जिम्मेवारी बहन गर्न तयार भए निजी विद्यालयहरु उचित क्षतिपूर्ति सहित सरकारलाई तालाचाबी बुझाउन तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसका साथै, एन–प्याब्सनले सरकारसँग विद्यालय खोल्ने र विद्यार्थी भर्ना थाल्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ । विद्यालय बन्द हुँदा दुई लाख ५० हजार शिक्षक कर्मचारी, २५ लाख बालबालिका र लाखौं सञ्चालकको भविष्यमा खेलबाड भएको एन–प्याब्सनको भनाई छ ।
सरकारलाई आवश्यकता परेमा क्वारेन्टाइन निर्माणका लागि कक्षाकोठा उपलब्ध गराउन तयार भएका निजी विद्यालयहरु अहिले क्वारेन्टाइन निर्माणका लागि कक्षाकोठा उपलब्ध गराउन नसक्ने बताएका हुन् । सामाजिक उत्तरदायित्व बहान गर्ने भन्दै क्वारेन्टाइन निर्माणका लागि विद्यालय भवन र कक्षाकोठा उपलब्ध गराउन तम्तयार रहेका निजी विद्यालयहरु अहिले आफ्नै निर्णयबाट पछि हटेका छन् ।


