कोरोना प्रभाव नियन्त्रण भएका मुलुकका लागि वैदेशिक शैक्षिक अनुमति पत्र सुचारु गर्न नेकाको आग्रह

काठमाडौं/२२ जेठ–राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले कोरोना भाइरस (कोभिड–१९) को प्रभावलाई नियन्त्रण गरिसकेका मुलुकका लागि वैदेशिक शैक्षिक अनुमति पत्र सुचारु गर्न सरकारसँग आग्रह गरेको छ ।

सरकारले कोरोना महामारीको प्रभावलाई हेरी विदेश पढ्न जानको लागि अध्ययन स्वीकृतको पत्र कुनै देशलाई जारी गर्ने तथा कुनै देशलाई जारी नगर्ने गरेको निर्णयका कारण व्यवसायी आशिंक रुपमा प्रभावित भएको र लकडाउनपछि व्यवसायको कारोबार शुन्य रहेको नेकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि शैक्षिक परामर्श सेवा बन्द हुँदा व्यवसायी नै धरासयी हुने अवस्थामा पुगेकाले शैक्षिक परामर्श व्यवसायी क्षेत्रलाई अति प्रभावित व्यवसायीक क्षेत्र अन्तर्गत सूचिकृत गर्न सरकारसँग नेकाले आग्रह गरेको छ । नेकाले सहृलियत ऋण/पुनःकर्जाको सुविधा, कर छुट तथा कर तिर्नका लागि सहज समयावधि साथै कर्मचारीहरुको तलबमा लाग्ने करमा अधिकतम सहुलियत प्रदान गरी व्यवसायीक हौसाल प्रदान गर्न आग्रह गरेको छ ।

लकडाउन खुलेपछि कार्यालय सञ्चालनका साथै घरभाडा, कर्मचारीको तलब भत्ता, मसलन्द लगायतका खर्च, सरकारको विभिन्न करहरुको साथै आफ्नो पनि दैनिकी गुजारा गर्न कठिन हुने नेकाको भनाई छ ।

नेपालमा करिब १५ सयको हाराहारीमा शिक्षा मन्त्रालयबाट स्वीकृत लिएका कन्सल्टेन्सीहरु सञ्चालनमा रहेका छन् भने ४० हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाईरहेका छन् ।