कोभिड -१९ संक्रमितको संख्या बढे पछि फेरि कोरियाका विद्यालय बन्द


काठमाडौ/१७ जेठ – दक्षिण कोरियामा बिहीबार ७९ र शुक्रबार ५८ जना नयाँ संक्रमित देखिएपछि ५ सयभन्दा बढी विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

अधिकारीहरूका अनुसार पाँच सयभन्दा बढी विद्यालयहरूमा पठनपाठन सुचारु भएको केही दिनमै बन्द भएका छन् । कोभिड १९को संक्रमण नियन्त्रणमा आएको भन्दै कोरियाले बुधबारदेखि विद्यालयका पठनपाठन सुचारु गरेको थियो । तर फेरि नयाँ संक्रमित देखिएपछि सरकारले विद्यालयमा पठनपाठन बन्द गरेको हो ।


स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बारे विश्वव्यापी रूपमा तथ्यांक अद्यावधिक गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण कोरियामा शुक्रबार साँझसम्म संक्रमितको संख्या ११ हजार ४ सय २ पुगेको छ । भाइरसको संक्रमणका कारण हालसम्म २ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् ।


स्थानीय सञ्चारमाध्यमका अनुसार शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै लेखेका छन् बुचन तथा सोलका ५ सयभन्दा बढी विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको जनाएका छन् । मन्त्रालयले राजधानी सोलका १ सय १७ विद्यालयमा पठनपाठन सुचारु गर्ने मिति केही पर सारिएको जनाएको छ । शुक्रबारसम्ममा देशभरका ८ सय ३८ विद्यालय खुल्ने समय पछि सारिएको छ ।


अधिकारीका अनुसार सोलस्थित एक विद्यालयका विद्यार्थीलाई भाइरसको संक्रमण देखिएको छ । उनकी आमाले बुचनको गोदाममा काम गर्दै आएकी थिइन् ।


दक्षिण कोरियामा सन् २०२० को सुरुवातमै भाइरसको संक्रमण व्यापक फैलिएको थियो । तर बृहत् रूपमा ‘परीक्षण, ट्रेसिङ र उपचार’ का कारण छोटो समयमै नियन्त्रणमा आएको थियो ।