शिक्षकको कार्यसम्पादन मूल्याङ्कन विद्यालय सञ्चालनमा आएपछि गरिने


काठमाडौं/३१ बैशाख–शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै विद्यालय बन्द भएका कारण शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन (कासमू) प्रभावित भएको जनाएको छ ।
कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेसँगै देशका सम्पूर्ण विद्यालयहरु बन्द छन् । विद्यालय बन्द भएका कारण नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र सम्बन्धित विद्यालयले कासमू फारम भरी बुझाउन नसकिएको आयोगको भनाई छ ।
शिक्षक सेवाआयोग नियमावली, २०५७ (संशोधनसहित)  को नियम ३२ (घ) को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको कासमू सम्बन्धी व्यवस्थामा नयाँ शैक्षिक सत्र शुरू भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने, दर्ता गर्ने र मूल्याङ्कन गर्ने कार्यको लागि विद्यालयहरू नियमित सञ्चालन भए पश्चात आयोगले निश्चित अवधि सहित पुनः सूचना प्रकाशन गरिने प्रमुख अर्यालले जानकारी दिए ।