काठमाडौं/२५ बैशाख–लकडाउनको अवस्थामा कतिपय विद्यालयहरुले अनलाइन कक्षा सुरु गरी पाठ्यक्रम पढाईरहेको छन् । विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिनका लागि भन्दै अनलाइन कक्षामा पाठ्यक्रम पढाई कोर्ष अघि बढाइरहेका छन् । तर, संसदीय समितिले सरकारलाई तत्काल यस्तो काम बन्द गर्न निर्देशन दिएको छ ।
बुधबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा विद्यार्थीहरुबीच विभेद हुने भन्दै अनलाइन कक्षामा पाठ्यक्रम नपढाउन निर्देशन दिएको हो । देशका सबै ठाउँमा इन्टरनेटको राम्रो सुविधा छैन । यस्तो अवस्थामा कोर्ष अगाडि बढाउँदा इन्टरनेटको सुविधा र पहुँच नहुने विद्यार्थीमाथि विभेद हुने समितिको भनाई छ ।
समितिले विद्यालयहरुले अहिले सञ्चालन गरिरहेका अनलाइन कक्षा शैक्षिक सत्रको गणनामा अमान्य हुने गरी अहिले नै सुनिश्चिता गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
यस्तै, बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय खुल्ने, परीक्षा र भर्नाबारे भ्रम छरेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
शिक्षा मन्त्री पोखरेलले केही दिन अगाडि बैशाख २६ गतेदेखि विद्यालयमा भर्ना सुरु हुने र तीन हप्तापछि परीक्षा हुने बताएका थिए । तर, त्यसको भोलिपल्ट नै उनले मन्त्रीस्तरीय निर्णय भन्दै अर्को सूचना नआएसम्म भर्ना नलिन निर्देशन दिनुका साथै परीक्षाका बारेमा कुनै पनि निर्णय नभएको सूचना जारी गरेका थिए ।
अनलाइन कक्षामा पाठ्यक्रम नपढाउन निर्देशन
