काठमाडौं/२४ बैशाख– संस्कृत विषय पुनः अध्यापन हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रका अनुसार संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पुनः अध्यापन गरिने भएको हो । केन्द्रले स्थानीय विषयका रुपमा कक्षा १ का लागि ‘अस्माकम् संस्कृतम्’ को पाठ्यपुस्तक तयार पारेको हो ।
विद्यालय तहमा अनिवार्य विषयको रुपमा पढाई हुँदै आएको संस्कृत विषयलाई ऐच्छिक बनाए सँगै विस्तारै संस्कृत विषय अध्यापन हुन छोडेको थियो । संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो । पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपुस्तक चालु शैक्षिक वर्षदेखि नै लागु गर्ने गरी तयार पारिएको केन्द्रले जनाएको छ ।
भाषा आयोगले जीवन पद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठनको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्न गरेको सिफारिसका आधारमा केन्द्रले पाठ्यपुस्तक तयार गरेको हो । केन्द्रले संस्कृत सहित मातृभाषाको पाठ्यक्रम पनि तयार पारेको छ । केन्द्रले आयोगकै सुझाव अनुसार अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारु, माझीलगायत मातृभाषाको पाठ्यक्रम तयार पारेको छ ।