काठमाडौं/२४ वैशाख – कोरोना भाइरसका कारण बन्द भएका भियतनामका विद्यालय ३ महिनापछि सोमबारबाट खुलेका छन् ।
सुरक्षाका उपाय अपनाएर मात्र विद्यालय खुलेका हुन् । कोरोना भाइरस नियन्त्रणमा आएसँगै विद्यालयहरू सञ्चालनमा आएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् ।
विद्यालय खुलेसँगै सोमबार अधिकांश विद्यार्थीहरु विद्यालय गएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार भियतनाममा एउटा कोठामा भीड नहुने गरी सानो समूहमा छुट्याएर पढाइ थालिएको छ ।
केही विद्यालयलाई भने भौतिक दूरी कायम गर्न कक्षा कोठाको अभाव देखिएको छ भने केही विद्यालयले अनलाइन र टेलिभिजन अध्यापनलाई निरन्तरता दिएका छन् ।
अहिले सम्म भियतनाममा २ सय ७१ मा संक्रमण देखिएको छ भने कोरोनाबाट कसैको मृत्यु भएको छैन ।