काठमाडौं/२३ बैशाख– कोरोना भाइरसको कारणले गर्दा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका परीक्षाहरु स्थगित भएका छन् ।
परीक्षा स्थगित भएसँगै परीक्षा कहिले हुन्छ भन्ने अन्योलता अभिभावक र विद्यार्थीहरुमा छँदैछ । यस्तो परिस्थितिमा परीक्षा गर्ने वा नगर्ने भन्ने विषयमा बहस र छलफल पनि चलिरहेको छ । यसैबीच निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) मा यस वर्ष सहभागी हुने विद्यार्थीहरुको विद्यालयले गरेको आन्तरिक मूल्याकंनलाई आधार मान्न आग्रह गरेको छ ।
प्याब्सनले एसईई परीक्षा लिन सम्भव नदेखिएकाले विद्यार्थीको विद्यालयले गरेको आन्तरिक मूल्याकंनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न आग्रह गरेको छ । सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपाय’bout विमर्श गरिरहेको बेला प्याब्सनले यस्तो आग्रह गरेको हो ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना महामारीका कारण परीक्षा स्थगित हुँदा विद्यार्थी र अभिभावकलाई मानसिक तनाव परेको उल्लेख गर्दै कानुनी बाधा अड्चन हटाई आन्तरिक मूल्याकंनलाई आधार मान्ने गरी आवश्यक निर्णय लिन सरकारलाई आग्रह गरेका छन् ।