आईडब्लुएस यु–१६ अन्तरविद्यालय फुटसल प्रतियोगितामा युरो स्कुल,हात्तीगौँडा विजयी

काठमाडौँ /२३ असार – इम्पेरियल वल्र्ड स्कुल यु–१६ अन्तरविद्यालय फुटसल प्रतियोगिता – सिजन २ सम्पन्न भएको छ । काठमाडौँ उपत्यका भित्रका १२ विद्यालय सहभागि रहेको प्रतियोगिता असार १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको थियो ।


१२ विद्यालयका प्रतिभाशाली युवा फुटबलरहरूलाई एकै ठाउँमा समेटेको यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्नुका साथै सामूहिक कार्य (टिमवर्क), अनुशासन, खेलभावना र स्वस्थ प्रतिस्पर्धालाई बढावा दिएको विद्यालयको भनाई छ ।


प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने र विशेष अतिथिका रूपमा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको उपस्तिथि रहेको थियो । उद्घाटन समारोहपछि, टोलीहरूले पहिलो तीन दिनसम्म लिग चरणका खेलहरू खेलेका थिए, जहाँ खेलाडीहरूले आफ्नो दृढ सङ्कल्प, कौशल र निष्पक्ष खेल कौशल प्रदर्शन गरेका थिए ।


लिग चरणबाट उत्कृष्ट खेल प्रदर्शन गरेर अगाडी बढेका टोलीहरूको क्वाटरफाइनल र सेमिफाइनल खेलहरू रोमाञ्चक रहेका थिए । कडा प्रतिस्पर्धाका साथ युरो स्कुल, हात्तीगौँडा र काष्ठमण्डप विद्यालयले फाइनल खेलका लागि आफ्नो स्थान सुरक्षित गरे ।


अन्तिम उपाधि भिडन्तमा युरो स्कुल, हात्तीगौँडाले काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै प्रतियोगिताको ट्रफी उचाल्न सफल भयो । तेस्रो स्थानका लागि निसर्ग बाटिका स्कुल र वृहस्पति विद्यासदन स्कुलबीच भएको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत निसर्ग बाटिका स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।


प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह अखिल नेपाल फुटसल संयोजक मिलन अधिकारीको मुख्य आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सरोज कुमार थापा र नरेश श्रेष्ठको पनि अतिथिका रूपमा उपस्थिति रहेको थियो । उक्त समारोहमा सहभागी टोलीहरू र उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।