काठमाडौँ /१९ असार – काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, नतिजा प्रदान गर्ने शिक्षक र विद्यालयलाई छुट्टाछुट्टै नगदसहित पुरस्कार प्रदान गरेको छ । यस्तै संस्थागत विद्यालयहरुलाई सम्मान प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक सत्र २०८२ मा प्राप्त नतिजाका आधारमा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनसहित अधिकारीहरुले सम्मान प्रदान गर्नुभएको हो ।
त्यस क्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापनमा लगानी बढाएको बताउनुभयो । ‘बालबालिकाहरुमा भएको अन्तरनिहीत क्षमता चिनाउने शिक्षकहरुको गुण अतुलनीय छ । म योग्य छु र? म गर्न सक्छु र? भन्ने भावलाई तिमी योग्य छौँ । गर्न सक्छौ, भनेर अनुभूति गराउनु, जीवनप्रति प्रोत्साहित गराउनु महत्वपूर्ण कुरा हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘यो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका शिक्षकहरुलाई मर्यादित पेशा प्रदान गर्न महानगरपालिका सदैव तत्पर छ ।’
‘सफलता बाँड्ने हाम्रो परम्परा हो । खुशीलाई हामी उत्सवका रुपमा मनाउँछौँ । आज शैक्षिक क्षेत्रमा प्राप्त भएको उपलब्धीप्रतिको खशीयाली बाँड्न पाउँदा हामीलाई गर्व महसुस भएको छ ।’ कार्यक्रममा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक महर्जनले भन्नुभयो, ‘समाजमा विद्यमान आर्थिक सामाजिक असमानतालाई समान बनाउने क्षमता शिक्षामा मात्र छ । यसकारण समतामूलक समाज निर्माणका लागि हामीले शिक्षामा लगानी बढाउँदै लगेका छौँ ।’
‘सम्मान कार्यक्रम २०७९ सालबाट रोकिएको थियो । यसलाई यस वर्षदेखि निरन्तरता दिएका छौँ ।’ शिक्षा विभागका प्रमुख नमराज ढकालले भन्नुभयो, ‘आगामी वर्षदेखि कक्षा १२ सम्मका विद्यालय, शिक्षक र विद्यार्थीलाई पुरस्कार र सम्मानमा जोडनेछौँ ।’
कार्यक्रममा, आर्थिक वर्ष २०८२/०८३ मा अनिवार्य अवकाश हुने ५० जना शिक्षकलाई सम्मानित गरियो । सम्मानित हुने शिक्षकहरुका तर्फबाट धारणा राख्दै नारायण नेपालले भन्नुभयो, ‘महानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि गरेर देखाएको छ । यसको प्रमाण हामी आफैँ हौँ । स्रोत दिएर हामीलाई गरेर देखाउ भन्यो । यो अवसरमा काम गर्ने अवसर हाम्रा लागि अवसर रह्यो ।’ २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई जनही २५ हजार रुपियाँ सहित सम्मानित गरियो । यस वर्ष ज्ञानोदय माध्यमिक विद्यालयबाट २१ जना, विश्वनिकेतन माविबाट ३ जना, रत्नराज्य मा. वि. र तरुण माविबाट २–२ जना र शिवपुरी मा. वि. बाट १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्नुभएको छ । पुरस्का थापेपछि ज्ञानोदय माविबाट एसईई ग्रेडेड विद्यार्थी सुदर्शन थापाले, महानगरपालिकाको आडमा विद्यालयले सञ्चालन गरेका कार्यक्रमबाट आफूहरुले उत्कृष्ट नतिजा प्राप्त गरेको धारणा राख्नुभयो । यस्तै तरुण माविबाट एसईई ग्रेडेड सदीक्षा पौडेलले, शिक्षामा सिप लगायत नविन कार्यक्रमबाट आफूहरु अध्ययनप्रति प्रोत्साहित भएका कारण नतिजा राम्रो आएको अनुभूति सुनाउनुभयो ।
यस वर्षको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थीलाई ग्रेडेड गर्ने बाल सेवा मावि झोँछेँ, बाल व्यावसायी केन्द्र मावि. सिफल, श्रम राष्ट्रिय मावि कुमारीगाल र केन्द्रीय बहिरा मावि. नक्साललाई नगद २५ हजार रुपियाँसहित पुरस्कृत गरियो ।
यसैगरी एसईईमा उत्कृष्ट नतिजा प्रदान गर्ने विषयगत शिक्षक सम्मान अन्तर्गत अनिवार्य विषयका ५ जना र ऐच्छिक विषयका ४ जना गरी ९ जनालाई जनही २५ हजार रुपियाँसहित पुरस्कृत गरियो । यसरी पुरस्कृत हुने शिक्षक शिक्षिकाहरुमा अंग्रजी विषयमा ज्ञानोदय माविका सुस्मा ढकाल, नेपाली विषयमा ज्ञानोदय माविकै विष्णु घिमिरे रिमाल, गणित विषयमा विश्व निकेतन माविका डिल्लीराम पौडेल, विज्ञान विषयमा महेन्द्र बौद्ध माविका बालेश्वर शाह हुनुहुन्छ । यस्तै ऐच्छिक विषयतर्फ गणित विषयमा जनजागृति ज्ञानरश्मि माविका दिपक थापा मगर, अर्थशास्त्रमा महेन्द्र बौद्ध माविका भावना भट्टराई, कार्यालय सञ्चालन तथा लेखा विषयमा जनजागृति ज्ञानरश्मि माविका डिना सिखाकार र कम्प्युटर विज्ञानमा ज्ञानोदय मावि वाफलका सुशिल तामाङ हुनुहुन्छ ।
यस वर्षको एसईईमा सबैभन्दा बढी औसत स्तरीकृत अंक प्राप्त गर्ने ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयलाई सम्मान प्रदान गरियो । यसमा सामुदायिकतर्फ ३.२९ अङ्क प्राप्त गर्ने ज्ञानोदय मावि, ३.२९ अङ्क प्राप्त गर्ने तरुण मावि र ३.२३ अङ्क प्राप्त गर्ने विश्व निकेतन माविलाई पहिलो, दोस्रो र तेस्रो स्थानका लागि क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपियाँ सहित पुरस्कृत गरियो । शिक्षा नियमावलीमा कुनै सामुदायिक विद्यालयले ५० जनाभन्दा धेरै विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराएर कम्तीमा ८५ प्रतिशत विद्यार्थीलाई ग्रेडेड गराए पुरस्कृत गर्न सकिने व्यवस्था छ । यही व्यवस्था अनुसार विद्यालयहरुलाई पुरस्कृत गरिएको हो ।
संस्थागत विद्यालयतर्फ ३.९ औसत स्तरीकृत अंक प्राप्त गर्ने विजकिड एकेडेमी, ३.७८ अङ्क प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र ३.७६ अङ्क प्राप्त गर्ने मेरिडियन इन्टरनेशनल स्कूललाई तेस्रो स्थानका लागि सम्मान प्रदान गरियो । सम्मान पत्र थाप्दै बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका प्रधानाध्यापक कान्ति थापा कार्कीले महानगरपालिकाबाट प्राप्त सम्मानले आफूहरुलाई शैक्षिक क्रियाकलापप्रति थप उत्साहित बनाएको उल्लेख गर्नुभयो । यस्तै ज्ञानोदय माविका प्रधानाध्यापक विष्णु रिमालले, विद्यालयले प्राप्त गरेको खुशीमा महानगरपालिकाको पनि प्रतिष्ठा जोडिएको उल्लेख गर्नुभयो ।
सम्मान कार्यक्रममा २०८२ सालको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा सबैभन्दा बढी औसत स्तरीकृत अङ्क प्राप्त गर्ने ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरियो । सम्मान प्राप्त गर्ने संस्थागत विद्यालयहरुमा ३.७५ औसत स्तरीकृत अङ्क प्राप्त गर्ने विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, ३.६६ प्राप्त गर्ने काञ्जीरोवा नेशनल स्कूल र ३.६२ अङ्क प्राप्त गर्ने निसर्ग बाटिका स्कूलाई सम्मान प्रदान गरियो ।
यस्तै सामुदायिक विद्यालयतर्फ ३.४२ अङ्क प्राप्त गर्ने विश्व निकेतन मावि, ३.३६ अङ्क प्राप्त गर्ने पद्मोदय मावि र ३.३४ अङ्क प्राप्त गर्ने भानु माविलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो ।
परीक्षामा उत्कृष्ट नतिजा प्रदान गर्ने सामुदायिक विद्यालयका विषय शिक्षकहरुलाई जनही २० हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो । यसरी पुरस्कार प्राप्त गर्नेमा नेपाली विषयतर्फ भानु मावि रानीपोखरीका यशोदा न्यौपाने, अंग्रेजी विषयमा पद्मोदय माविका पाण्डवराज अर्याल, गणित विषयमा विश्व निकेतन माविका शिव खतिवडा, विज्ञान विषयमा कन्या मन्दिर माविका दिपक विक, सामाजिक विषयमा पद्मोदय माविका देवेन्द्रकाजी तिवारी, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा विश्व निकेतन माविका राजन ढकाल र नेपाल भाषामा कन्या मन्दिर माविका सुलोचना महर्जन हुनुहुन्छ ।



