अपिहिमाल गाउँपालिकाका विद्यालय १५ दिनका लागि बन्द

दार्चुला/२६ वैशाख – दार्चुलाको अपिहिमाल गाउँपालिकाका विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । आइतबार (वैशाख २७)देखि लागु हुने गरी १५ दिनका अपिहिमालका सामुदायिक विद्यालय बन्द गरिएको हो ।


यार्सागुम्बा संकलनका लागि अभिभावकसँगै विद्यार्थी लेकतिर हिँडेपछि विद्यालय १५ दिनका लागि बन्द गरिएको हो । यस क्षेत्रको प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा संकलनका लागि अभिभावक लेकतिर जाने गरेका छन् । उनीहरुसँगै विद्यार्थी गएपछि गाउँपालिकाले नै विद्यालय बन्द गर्नुपरेको हो ।


शुक्रबार (वैशाख २५) गाउँपालिका शिक्षा शाखाले सूचना जारी गरेर आइतबार (वैशाख २७) बन्द भएका विद्यालय आगामी जेठ १० देखि पुनः सञ्चालनमा आउने जनाएको छ ।


अपिहिमाल गाउँपालिकाभर रहेका २२ सामुदायिक विद्यालयमा करिब ११ सय विद्यार्थी अध्ययनरत छन् ।