काठमाडौँ /२२ वैशाख – प्रिमियर इन्टरनेसनल आईबी कन्टिनियम स्कूलद्वारा आयोजित उद्यमशील प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तकहरू, उद्योग क्षेत्रका विद्वानहरु तथा अभिभावकहरूलाई एकै स्थानमा ल्याउँदै विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाहरूको प्रेरणादायी प्रस्तुति दिएको थियो ।
विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कक्षा ११ का एनइबी व्यवस्थापनका विद्यार्थीहरू र आईबिडिपी वर्ष १ का विद्यार्थीहरूलाई स्थानीय नेपाली स्रोतहरूमा आधारित पूर्ण व्यावसायिक अवधारणाहरू निर्माण गरेका थिए ।
प्रत्येक समूहले आफ्नो व्यावसायिक योजना सम्मानित निर्णायक मण्डल समक्ष व्यावसायिक प्रस्ताव प्रस्तुत गर्ने शैलीमा प्रस्तुति दिँदै सुझाव र सम्भावित लगानीको अपेक्षा गरेका थिए । यसले वास्तविक स्टार्टअप इकोसिस्टमको अनुभव दिलाउँदै कक्षाकोठा भन्दा बाहिरको व्यवहारिक सिकाइलाई प्रोत्साहन गरेको थियो ।
कार्यक्रमको निर्णायक मण्डलमा कर्मा कफीका संस्थापक बर्गेट लेनहर्ट, अबिरका संस्थापक विनी वज्राचार्य र अभानी एडेर्भटाइजिङका संस्थापक जीतेन्द्र रञ्जित रहेका थिए । साथै निर्णायकहरूको अनुभव र सुझावले विद्यार्थीहरूलाई दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणबारे व्यावहारिक दृष्टिकोण प्रदान गरे ।
कार्यक्रममा प्राकृतिक सामग्रीबाट बनेको मच्छर भगाउने मिस्ट, फुरान्दाना आधारित स्वास्थ्यकर खाजा , भेगन डेयरी विकल्प उत्पादन श्रृंखला, परम्परागत ढाका कपडामा आधारित व्यवसाय , नेपालका सातै प्रदेशका अचारलाई समेट्ने व्यवसाय र दिगो काठजन्य उत्पादनमा आधारित व्यवसाय गरी छ वटा नवप्रवर्तनशील व्यावसायिक अवधारणाहरू प्रस्तुत गरिएका थिए ।
यीमध्ये, ढाका कपडामा आधारित व्यवसाय ढाका फेसन परिधानलाई “सर्वोत्कृष्ट व्यावसायिक प्रस्ताव प्रस्तुतिको उपाधि सहित प्रमाणपत्र प्रदान गरिएको थियो । जसले यसको उत्कृष्ट अवधारणा र कार्यान्वयनलाई मान्यता दिएको थियो । यससँगै, ढाका व्यवसाय र मच्छर भगाउने मिस्ट दुवैले निर्णायकहरूको विशेष ध्यान आकर्षित गर्न सफल भए । ती अवधारणाहरूमा लगानी गर्ने वास्तविक चासो व्यक्त गरियो भने भेगन डायरी विकल्पले पनि कर्म कफिका लागि सम्भावित आपूर्ति उत्पादनको रूपमा बलियो सम्भावना देखायो, जसले यसको बजार योग्यता प्रमाणित ग¥यो । साथै, अचार व्यवसायले आफ्नो प्रभावशाली मार्केटिङ रणनीतिका कारण निर्णायक जीतेन्द्र रञ्जितलाई विशेष रूपमा प्रभावित पा¥यो ।
प्रस्तुतिमा देखिएको सोचको स्तरबारे जीतेन्द्र रञ्जितले भने “कक्षा ११ मा हुँदै तपाईँहरू एमबिए स्नातक जस्तै सोच्दै हुनुहुन्छ । हाइस्कूल सकिने बित्तिकै म तपाईँहरूलाई रोजगारी अवसर दिन चाहन्छु ।” यस पहलले अनुभवात्मक सिकाइको महत्त्वलाई उजागर गर्दै विद्यार्थीहरूलाई वास्तविक जीवनका चुनौतीहरूसँग प्रत्यक्ष रूपमा संलग्न गराएको थियो । व्यावसायिक मोडेल विकास र उद्योग विशेषज्ञ समक्ष प्रस्तुति गर्ने प्रक्रियामार्फत कक्षा ११ र आईबिडिपी वर्ष १ का विद्यार्थीहरूले समालोचनात्मक सोच, सिर्जनशीलता तथा उद्यमशील आत्मविश्वास जस्ता भविष्यका लागि आवश्यक सीपहरू प्रदर्शन गरे ।
विद्यार्थीमा यस प्रकारको तत्परता विकास गर्नु नै विद्यालयको आईबी कन्टिनियम ढाँचाको उद्देश्य रहेको विद्यालयको भनाई छ । बजार अनुसन्धानदेखि उत्पादन विकास र लगानीकर्ता समक्ष प्रस्तुतिसम्मका जीवन्त व्यावसायिक चुनौतीहरूमा विद्यार्थीहरूलाई संलग्न गराएर, प्रिमियर इन्टरनेसनलले सिकारुहरूलाई समालोचनात्मक सोच, सिर्जनशीलता र उद्यमशील आत्मविश्वास प्रदान गरेको जनायो ।



