काठमाडौं/१० बैशाख–विराटनगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ ।
विद्यालयले कक्षा ११ र १२ का लागि जूम एपको माध्यमबाट लाइभ अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । विद्यालयहले सामाजिक सञ्चालन भाइबरलाई समेत पाठ्यसामग्री र प्रश्नउत्तर पठनपाठनको माध्यम बनाएको छ । विद्यालयका प्रिन्सिपल टीका राम पुरीका अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिन घरमै बसिरहेका विद्यार्थीहरुको समयलाई सदुपयोग गर्न र पढाईलाई निरन्तरता दिन अनलाइन कक्षा सुरु गरिएको बताए ।
अनलाइन कक्षामा विद्यार्थीहरुको राम्रो सहभागिता रहेको भएपनि केही विद्यार्थी अनुपस्थित भएको उनको भनाई छ । उनले अनलाइन कक्षामा अनुपस्थित भएका विद्यार्थीका अभिभावकलाई कक्षामा सहभागिताका लागि वातावरण मिलाई दिन समेत आग्रह गरेका छन् ।
अहिले अधिकांश विद्यालय र कलेजहरुले विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिनका लागि अनलाइन कक्षा सञ्चालनमा ल्याएका छन् । अनलाइन कक्षामा विद्यार्थीहरुले आफूले नबुझेका कुराहरु समेत सोध्न पाउने व्यवस्था विद्यालयले मिलाएका छन् । यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियोबाट कक्षा सञ्चालन गरिरहेका छन् भने केन्द्रको वेवसाइटमा उपयोगी सामग्रीहरु राखेको छ । जसले विद्यार्थीको पठनपाठनमा सहयोगी भूमिका निर्वाह गर्छ ।