काठमाडौं/१० बैशाख– अष्ट्रेलियाको सिड्नीमा रहेको क्राउन इन्सिच्युट अफ हाइयर एजुकेशनले कोरोना भाइरसका कारण आर्थिक समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि आर्थिक प्याकेज घोषणा गरेको छ । इन्सिच्युटले २६ लाख अष्ट्रेलियन डलरको सहयोग कोष घोषणा गरेको हो ।
आर्थिक रुपमा प्रभावित विद्यार्थीलाई पाँच सय डलरसम्मको सहयोग गर्ने इन्सिच्युटले जनाएको छ । सहयोगका लागि विद्यार्थीहरुले सप्रमाण आवेदन दिनुपर्ने छ ।
इन्सिच्युटका प्रिन्सिपल शेयर होल्डर दिपक खड्काले कोरोना भाइरसका कारण काम गुमाएका र आर्थिक चपेटामा परेका सो कलेजमा अध्ययनरत विद्यार्थीको शैक्षिक शुल्कमा १७ प्रतिशत छुट दिने निर्णय गरिएको बताए । उनका अनुसार शैक्षिक शुल्कलाई साप्ताहित र अर्धमासिक रुपमा तिर्न सकिने बनाइएको छ भने हालका लागि ‘लेट फी’ समेत नलाग्ने भएको छ ।