कासमूका आधारमा गरिने ( ७५ प्रतिशत) शिक्षक बढुवाका लागि दरखास्त आह्वान

काठमाडौँ /१५ मंसिर – शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरिने ( ७५ प्रतिशत) शिक्षक बढुवाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले विज्ञापन जारी गर्दै प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीका लागि बढुवाद्वारा शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।


शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भरी विज्ञापनमा तोकिए बमोजिमको आवश्यक कागजातहरू संलग्न राखी सम्बन्धित जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाइ मार्फत दरखास्त दिन सक्नेछन् ।


दरखास्त पुस २० गतेभित्र दिनुपर्ने समय तोकिएको छ । साथै आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवा विज्ञापनको हकमा सिङ्गल दस्तुरका लागि पुस १५ गते भित्र र दोब्बर दस्तुरका लागि पुस २२ गतेसम्म आवेदन दिनुपर्ने छ । आयोगको https://online.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जनाएको छ । सूचना तथा विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://tsc.gov.np/ डाउनलोड /सूचना विज्ञापनबाट प्राप्त गर्न सकिनेछ ।